केपी ओली एफसीलाई हराउँदै मछिन्द्र फाइनलमा

केपी ओली एफसीलाई हराउँदै मछिन्द्र फाइनलमा



काठमाडौं । मछिन्द्र फुटबल क्लब केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

एन्फा कम्प्लेक्समा सोमबार भएको दोस्रो सेमिफाइनलमा आयोजक टोली केपी ओली एफसीलाई १-० गोल अन्तरले हराउँदै मछिन्द्र उपाधि नजिक पुगेको हो ।

मछिन्द्रलाई जित दिलाउन विमल घर्ति मगरले निर्णायक गोल गरे । विमलले खेलको १९ औं मिनेटमा गोल गरेका थिए ।

अब मछिन्द्रले उपाधिका लागि सातदोबाटो युथ क्लबसँग खेल्नेछ । फाइनल खेल बुधबार हुनेछ । सातदोबाटो त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा हराउँदै फाइनल पुगिसकेको छ ।

राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद प्राप्त गर्ने छन् । उपविजेता टोलीले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका सर्बोत्कृष्ट खेलाडीले १ लाख नगद पाउने छन् ।

त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदयमान खेलाडीले ५० हजार पाउने छन् ।