भद्रपुर झापा गोल्डकप उपाधि त्रिभुवन आर्मीलाई

भद्रपुर झापा गोल्डकप उपाधि त्रिभुवन आर्मीलाई



बिर्तामोड । भद्रपुर झापा गोल्डकपको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ । मेची रंगशालामा मंगलबार भएको फाइनल खेलमा आर्मीले मच्छिन्द्र क्लबलाई टाइब्रेकरमा ४–३ गोलले हरायो ।

आर्मीको जितमा गोलरक्षक समित श्रेष्ठले मच्छिन्द्रको दुई वटा प्रहार बचाएर नायक बने । निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा सकिएपछि टाइब्रेकरबाट नतिजा निकालिएको हो । टाइब्रेकरमा आर्मीका जितेन्द्र कार्की, सन्तोष केसी, प्रज्वल गुरुङ र सुसान्त चौधरीले गोल गरे ।

सेसेहाङ आङ्देम्बेको प्रहार मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले विफल पारेका थिए । मछिन्द्रका दिवाकर चौधरी, सुजल श्रेष्ठ र दिपेश घलेले मात्र गोल गर्न सके । रन्जित धिमाल र देवेन्द्र तामाङको प्रहारलाई आर्मीका गोलरक्षक समितले विफल पारेका थिए ।

उपाधिसँगै आर्मीले १३ लाख रुपियाँ पुरस्कार पायो । उपविजेता मछिन्द्रले सात लाख रुपियाँ प्राप्त गरेको छ ।