सन्दीपलाई यूएईमा खेल्न आईसीसीको अनुमति

सन्दीपलाई यूएईमा खेल्न आईसीसीको अनुमति



काठमाडौं । यूएईमा जारी विश्वकप लिग-२ अन्तर्गतको त्रिदेशीय शृंखलामा सन्दीप लामिछाने खेल्ने पक्का भएको छ । नेपाल क्रिकेट संघ-क्यानले मागेको अनुमती अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल-आईसिसीले स्विकृत गरेसंगै सन्दीपले खेल्ने पक्का भएको हाे । सन्दीप आज नै यूएई जाने तयारीमा छन् ।

हाल युएईमा रहेका नेपाली टोलीका खेलाडी श्याम (मौसम) ढकाल नेट अभ्यासका क्रममा घाइते भएपछि उनको स्थानमा सन्दीप टोलीमा सामेल हुने भएका हुन् । २८ फेब्रुअरी २०२३ मा नेट अभ्यास सत्रमा ब्याटिङ गर्ने क्रममा मौसमको काँधमा चोट लागेको थियो ।

त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको आफ्नो दोस्रो खेलमा बिहिबार नेपालले यूएईसँग खेल्नेछ । यूएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने खेल नेपाली समयअनुसार बिहान ११ः४५ बाट सुरु हुनेछ ।

नेपाल र यूएई एकदिवसीय अन्तर्राष्ट्रियका लागि परिचित प्रतिद्वन्दी हुन् । नेपाल र यूएईबीच एकदिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्म ९ पटक प्रतिस्पर्धा भएको छ । नेपाल मात्र ४ पटक विजयी हुँदा ५ पटक यूएईले खेल आफ्नो पक्षमा पारेको छ ।

यस्ताे छ अंक तालिका

स्कटल्यान्ड ३६ खेलमा २४ मा जित र १० मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा रहँदै अन्त्य गर्यो । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो अन्त्य गरेको छ । नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारका साथ ३९ अंकका साथ तेस्रो स्थानमा छ ।

अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । युएई २९ खेलमा १३ मा जित र १३ मा हारसहित २९ अंकका साथ पाँचौं स्थानमा छ । नेपाल २९ खेलमा १३ मा जित र १४ मा हारसहित २८ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी ३० खेलमा ३ मा जित र २६ मा हारसहित ७ अंक जोड्दै पुछारमा छ।