युएईलाई हराउँदै नेपाल विश्वकपमा

युएईलाई हराउँदै नेपाल विश्वकपमा



काठमाडौं । दीपेश कँडेलले ह्याट्रिक विकेट लिएपछि निर्णायक खेलमा यूएईमाथि ७ रनको रोमान्चक जित निकाल्दै नेपाली टिम अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएको छ । दीपेश कँडेलले ४७ औं ओभरमा तीन विकेट लिँदै नेपालको जित पक्का गराएका हुन् । अन्तिम तीन बलमा दीपेशले लगातार तीन विकेट लिएपछि नेपालको विश्वकप यात्रा पक्का बनेको थियो । सन् २०१६ यता नेपालले पहिलोपल्ट उमेरसमूहको क्रिकेट विश्वकप खेल्न लागेको हो ।

१९२ रनको लक्ष्य पछ्याएको युएई ४८ ओभरमा सबै विकेट गुमाएर १८४ रन मात्र बनाउन सक्यो ।

यूएईको अजमानमा टस हारेर ब्याटिङ गरेको नेपालले क्याप्टेन देव खनालको अर्धशतकको सहयोगमा १९१ रनको योगफल बनाएको थियो । क्याप्टेन खनालले ३ चौका र १ छक्का प्रहार गरेका थिए । देवले ७५ बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए । विशाल विक्रम केसीले ५० बलमा ३८ रन बनाए । केसीले ५ चौका प्रहार गरेका थिए । 

उत्तम थापा ३६ रन बनाएर आउट भए । ६ ओभर १ बलमा ३ विकेट गुमाईसकेको नेपालका लागि थापा र कप्तान खनालले चौथो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए । दिपेश कँडेलले १५ तथा हेमन्त धामीले १३ रन बनाए । 

नेपालका ओपनर दीपक बोहोरा ईनिङको पहिलो बलमा नै आउट भएका थिए । अर्का ओपनर अर्जुन कुमाल ३ तथा आकाश त्रिपाटी ९ रनमा आउट भएका छन् । 

यूएईका लागि धुव्र पराशरले ३ तथा हरिस शेठ्ठी र आयान खानले समान २/२ विकेट लिए । हर्शित शेठ र अम्मर बदामीले समान १/१ विकेट लिएका छन् ।