पीएनजीले दियाे नेपाललाई १८० रनको लक्ष्य

पीएनजीले दियाे नेपाललाई १८० रनको लक्ष्य



काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाललाई पपुवा न्युगिनी (पीएनजी)ले १ सय ८० रनको मध्यम लक्ष्य दिएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको पपुवा न्युगिनी ४९.२ ओभरमा १ सय ७९ रनमा अल आउट भयो ।

पीएनजीका लागि टोनी उराले ३९ रनको सर्वाधिक ठूलो ईनिङ खेले । हिरी हिरी २९ रनमा आउट हुँदा किप्लीन डोरीगाले २६ रन बनाए । गौडी टोकाले १५ रन बनाउँदा नर्मन भानुवाले १४ रन बनाए । सेसे बाउ र कप्तान असद भालाले समान ११/११ रन बनाए ।

नेपालका लागि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान २/२ तथा कुशल मल्ल,सन्दीप लामिछाने र करण केसीले समान १/१ विकेट लिए ।

दीपेन्द्र सिंह ऐरीले १० ओभरमा ३० रन खर्चिएर २ विकेट लिए । सोमपाल कामीले १० ओभरमा ३९ रन खर्चिएर २ विकेट लिए । कुशल मल्लले १० ओभरमा ३१ रन खर्चिएर १ विकेट लिए । करण केसीले ८ ओभरमा ३१ रन खर्चिएर १ विकेट लिए । सन्दीप लामिछाने ९ दशमलब २ ओभरमा ३१ रन खर्चिएर १ विकेट लिए ।

यही सिरिजको क्रममा सोमबार भएको खेलमा नेपालले पीएनजीलाई पराजित गरेको थियो । पीएनजीमा आयोजना हुनुपर्ने यो सिरिज मैदानको अवस्थाको कारण यूएईमा सारिएको थियो ।

२०१९ देखि जारी रहेको विश्वकप लिग टूको सिरिजमा नेपालको यो विदेशमा हुने अन्तिम त्रिकोणात्मक सिरिज पनि हो । नेपालले यूएई भ्रमणको अन्तिम खेलमा मार्च ६ (फागुन २२) मा घरेलु टोलीसँग खेल्नेछ ।

नेपाल ३० खेलमा १३ मा जित र १५ मा हारसहित छैटौं स्थानमा छ । पीएनजी ३० खेलमा ३ मा जित र २६ मा हारसहित अंक तालिकाको पुछारमा रहेको छ ।