आसिफ र सन्दीपको कीर्तिमानी साझेदारीमा नेपालले पिएनजीलाई ३ विकेटले हरायो

आसिफ र सन्दीपको कीर्तिमानी साझेदारीमा नेपालले पिएनजीलाई ३ विकेटले हरायो


ग्लोब नेपाल
4.8k
Shares

दुबई । विकटकिपर आसिफ शेख र स्पिनर सन्दीप लामिछानेको कीर्तिमानी साझेदारीमा नेपालले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीमाथि तीन विकेटको जित हात पारेको छ । नेपालले २ ओभर बाँकी छँदै सनसनीपूर्ण जीत निकालेको हो । 

नेपालका लागि ओपनर आसिफ शेख तथा सन्दीप लामिछानेले कीर्तिमानी साझेदारी गरेपछि पीएनजी ३ विकेटले पराजित भएको हो । सन्दीप र आसिफले आठौं विकेटका लागि ७७ रनको अविजित साझेदारी गरेका थिए ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पीएनजीले दिएको १ सय ८० रनको लक्ष्य नेपालले ४८ ओभर ७ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर आसिफ शेखले १ सय ३० बलमा अविजित ८६ रन बनाए । शेखले २ चौका र १ छक्का प्रहार गरे । सन्दीप लामिछानेले ५० बलमा अविजित ३५ रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले करियरकै उत्कृष्ट ब्याटिङ गरे । उनले एकदिवसीय क्रिकेटमा पहिलो पटक ३५ रन बनाएका हुन् । 

त्यसअघि कुशल मल्लबाहेक कसैले दोहोरो अंक जोड्न सकेका थिएनन् । मल्लले २३ रन बनाएका थिए । नेपालको पहिलो बलमै विकेट गुमेको थियो। त्यसपछि पनि लगातार विकेट झर्ने क्रम नरोकिएको पछि नेपालले खेल हार्ने सम्भावना बढेको थियो ।

नेपालका लागि सोमपाल कामी र दिपेन्द्र सिंह एरीले दुई-दुई विकेट लिए । त्यस्तै करण केसी, सन्दीप लामिछाने र कुशल मल्लले एक–एक विकेट लिए । 

जितसँगै लिग–२ मा नेपाल ३१ खेलबाट ३० अंक जोडेर तालिकाको छैटौं स्थानमा छ । पीएनजी ३१ खेलमा ७ अंक जोडेर तालिकाको सातौं स्थानमा छ । आइसिसी विश्वकप लिग-२ प्रतियोगितामा अब ५ खेल बाँकी छ । नेपाललाई शीर्ष ३ मा स्थान बनाउन सबै खेल जित्नैपर्ने दबाब छ । यससँगै नेपालको ग्लोबल क्वालिफायर्समा पुग्ने सम्भावना जीवितै रहेको छ ।