अनेसास मेरिल्याण्ड च्याप्टरमा नयाँ नेतृत्व

अनेसास मेरिल्याण्ड च्याप्टरमा नयाँ नेतृत्व

नायिका पूजा चन्द बनिन् अध्यक्ष,सल्लाहकार समिति गठन



बाल्टिमोर,मार्च ५। अन्तर्राष्ट्रीय नेपाली साहित्य समाज,मेरिल्याण्ड च्याप्टरको नयाँ नेतृत्व चयन भएको छ। आइतवार यहाँ सम्पन्न एक भेलाले च्याप्टरकी उपाध्यक्ष समेत रहेकी नायिका पूजा चन्दलाई अध्यक्ष चयन गर्दै नयाँ कार्य समिति गठन गरेको हो। निवर्तमान अध्यक्ष भरत बराइलीको अध्यक्षतामा सम्पन्न च्याप्टरको भेलाले नायिका एवं कवयित्री समेत रहेकी चन्दलाई आगामी कार्यकालको लागि सर्वसम्मत अध्यक्ष चयन गरेको हो।
च्याप्टरका संस्थापक सदस्यहरु,कार्य समिति र शुभेच्छुकहरु सहभागी भेलाले नयाँ कार्य समितिको उपाध्यक्षमा पत्रकार मधुकर अधिकारीलाई चयन गरेको छ। अधिकारी निवर्तमान कार्य समितिको महासचिव हुनुहुन्थ्यो। यसैगरी महासचिवमा सहदेव कोइरालालाई चयन गरिएको छ भने कोषाध्यक्षमा सन्दीप कोइराला चयन हुनु भएको छ।

च्याप्टर कार्य समितिको सदस्यहरुमा मोज शाही, भावना विष्ट र भीमविक्रम शाही चुनिनु भएको छ। च्याप्टरको विधान अनुसार निवर्तमान अध्यक्ष बराईली नयाँ कार्य समितिको पदेन सदस्य रहनु भएको छ ।
यसैबीच नयाँ नेतृत्वको पहिलो बैठकले सात सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको अध्यक्ष चन्दले जानकारी दिनु भएको छ । जस अनुसार सल्लाहकारहरुमा डा.श्याम कार्की,डा. ह्यारी भण्डारी, तीर्थ पाण्डेय, गौतम दाहाल,डा उत्तम गौली, अर्जुन हमाल, र पारस श्रेष्ठ रहनु भएको छ ।

आइतवारको भेलामा अनेसास बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष तथा साहित्यकार तीर्थ पाण्डेय ,संस्थाका संस्थापकहरु गौतम दाहाल (संस्थापक महासचिव) र अर्जुन हमालले नवगठित समितिको सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्नु भएको थियो । नव निर्वाचित अध्यक्ष चन्दले आफूलाई विश्वास गरेर अध्यक्षमा चयन गरिएकोमा आभार व्यक्त गर्दछु भन्दै प्रवासी भूमिमा नेपाली भाषा, कला र संस्कृतिको जगेर्ना गर्दै भावी पिंढीको लागि नेपाली भाषाको अध्ययन ,अध्यापनमा सहयोग पुग्ने कार्यक्रम आयोजना गर्ने प्रयास गर्ने प्रतिवद्धता जनाउनु भएको थियो।
कार्यक्रममा अनेसास बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष एवं च्याप्टरका पूर्व अध्यक्ष तीर्थ पाण्डेय,च्याप्टरका निवर्तमान कार्य समितिका समेत सल्लाहकार रहनु भएका पत्रकार गौतम दाहाल र अर्जुन हमालसहित स्थानीय एनआरएन मेरिल्याण्ड च्याप्टरका संस्थापक उपाध्यक्ष सरोज पुरी र मोज शाही लगायतले नेपाली भाषाको जगेर्ना र संस्कृतिको रुपान्तरणको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न नयाँ कार्यसमितिलाई सफलता मिलोस् भनी शुभकामना व्यक्त गर्नु भएको थियो ।