नेपालद्वारा यूएईलाई २३० रनको चुनौतीपूर्ण लक्ष्य

नेपालद्वारा यूएईलाई २३० रनको चुनौतीपूर्ण लक्ष्य

भीम सार्कीको उत्कृष्ट ब्याटिङ



काठमाडौं । आईसीसी विश्वकप लिग- २ क्रिकेटको जारी त्रिकोणत्मक शृंखलाको आफ्नो अन्तिम खेलमा नेपालले यूएईलाई २३० रनको लक्ष्य दिएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २ सय २९ रन बनाएको हो ।

नेपालका लागि भिम सार्कीले ९९ बलमा ७० रन बनाए । भिमले ७ चौका प्रहार गरेका थिए । आरिफ शेखले अविजित ४३ रन बनाउँदा कुशल मल्लले ३२ रनमा आउट भए । सन्दीप लामिछानेले २७ रन बनाउँदा करण केसीले १७ रन बनाए ।

यूएईका लागि जुनेद सिद्धिकीले ३ तथा आर्यन लाक्रा र रोहन मुस्ताफाले समान २/२ विकेट लिए ।

यस सिरिजमा दुवै टोलीको दोस्रो पटक आमने सामने हुँदैछन् । पहिलो खेलमा नेपाल यूएईसँग पराजित भएको थियो । पीएनजीमा आयोजना हुनुपर्ने यो सिरिज मैदानको अवस्थाको कारण यूएईमा सारिएको थियो ।

२०१९ देखि जारी रहेको विश्वकप लिग टूको सिरिजमा नेपालको यो विदेशमा हुने अन्तिम त्रिकोणात्मक सिरिज पनि हो । नेपाल ३१ खेलमा १४ मा जित र १५ मा हारसहित ३० अंकमा रहेको छ । नेपाल अंक तालिकाको छैटौं स्थानमा छ । युएई ३१ खेलमा १४ मा जित र १४ मा हारसहित ३१ अंकका साथ पाँचौं स्थानमा छ ।

नेपालका ओपनर कुशल भुर्तेल ग्रोईन इन्जुरीका कारण यूएई विरुद्धको खेल भएका छन् । उनको स्थानमा प्रतिश जी.सीले मौका पाएका छन् । प्रतिशले पहिलो खेलमा पपुवा न्युगिनीविरुद्ध नेपालको लागि डेब्यू गरेका थिए । उक्त खेलमा ६ ओभरमा ३७ रन खर्चेर १ विकेट लिएका थिए ।