नेपालको यूएईमाथि ४२ रनको सानदार जित

नेपालको यूएईमाथि ४२ रनको सानदार जित

नेपाल अंक तालिकाकाे पाँचौ स्थानमा



काठमाडौं । आईसीसी विश्वकप लिग टूमा नेपालले यूएईमाथि ४२ रनको महत्वपूर्ण जित हात पारेको छ । नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको यूएईले ४५ ओभरमा सबै विकेट गुमाएर १८७ रन मात्र बनाउन सक्यो ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा नेपाल ४२ रनले विजयी भएको हो । यूएईका लागि ओपनर मुहम्मद वासिम शुन्य रनमा आउट भएका थिए । अर्का ओपनर आसिफ खानले ८२ रन बनाए ।

त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २ सय २९ रन बनाएको हो ।

नेपालका लागि भिम सार्कीले ९९ बलमा ७० रन बनाए । भिमले ७ चौका प्रहार गरेका थिए । आरिफ शेखले अविजित ४३ रन बनाउँदा कुशल मल्ल ३२ रनमा आउट भए । सन्दीप लामिछानेले २७ रन बनाउँदा करण केसीले १७ रन बनाए ।

यूएईका लागि जुनेद सिद्धिकीले ३ तथा आर्यन लाक्रा र रोहन मुस्ताफाले समान २र२ विकेट लिए ।

यस सिरिजमा दुवै टोलीको दोस्रो पटक आमने सामने हुँदैछन् । पहिलो खेलमा नेपाल यूएईसँग पराजित भएको थियो । पीएनजीमा आयोजना हुनुपर्ने यो सिरिज मैदानको अवस्थाको कारण यूएईमा सारिएको थियो ।

२०१९ देखि जारी रहेको विश्वकप लिग टूको सिरिजमा नेपालको यो विदेशमा हुने अन्तिम त्रिकोणात्मक सिरिज पनि हो ।

नेपाल ३२ खेलमा १५ मा जित र १५ मा हारसहित ३२ अंकमा रहेको छ । नेपाल अंक तालिकाको पाँचौ स्थानमा छ । युएई ३२ खेलमा १४ मा जित र १५ मा हारसहित ३१ अंकका साथ छैटौं स्थानमा छ ।