पर्यटकको पर्खाइमा मुगुका घोडा व्यवसायी 

पर्यटकको पर्खाइमा मुगुका घोडा व्यवसायी 



मुगु । छायाँनाथ रारा नगरपालिका–८ चुगा गाउँका दन्त लाल भियालको दैनिकि कार्य हो रारा तालमा आएका पर्यटकलाई घोडामा घुमाउने । पिठ्युँमा अदुरानो झोला, हातमा घोडाको कडेली समातेर उनी आन्तरिक तथा वाह्य पर्यटकको पर्खाइमा बस्छन् । सुख्खा रोटी र पिरो खुर्सानीको सहारामा उनी दैनिक रारा पुग्छन् । जहान परिवार पाल्ने आशमा अन्य काम छोडेर घोडासँगै उनी रारामा दौडिने गर्दछन् ।

पर्यटक नआउँदा उनको मन सुख्खा रोटीसँगै खाएको पिरो खुर्सानी जस्तै मन पनि पिरो हुन्छ । पछिल्लो समय पर्यटक नआउनु र घोडा सवार गरेको शुल्कमा पनि हेरफेर हुनाले घोडा व्यवसायी मर्कामा पर्ने गरेका छन् ।

ति मध्येका एक घोडा व्यवसायी भियाल विगत जस्तो घोडा व्यवसाय खस्कँदै गएको बताउँछन् । विगतका वर्षहरुमा एक घोडा सवार गरेको ५ सयदेखि एक हजार रुपैयाँसम्म दिने गरेका थिए । । तर, अहिले रारा ताल हेर्न आउने पर्यटकको संख्या पनि कमि हुनु र शुल्कमा पनि तलमाथि हुनाले जीवन गुजरा चलाउन पनि सकस परेको भियालको गुनासो छ । मंसिर महिनायता रारातालमा पर्यटक नआउँदा जीविकोपार्जन गर्न पनि धौ–धौ रहेको उनको भनाइ छ ।   

रारा तालमा घुम्न आउनेको संख्यामा कमि भएपछि मुगुका घोडा व्यवसायीको पनि रोजगारीमा समस्या भएको हो ।  दिनभरी रारा घुम्न आउने पर्यटकहरूलाई सल्लेरीदेखि रारा मुर्माटपसम्म घोडा चढाएर र पर्यटकको सामान बोकेर हिजोआज दैनिक ३ सयदेखि ५ सय रुपैयाँसम्म आम्दानी गरेको अर्को घोडा व्यवसायी पप्पु तिरुवाले बताए । 

उनका अनुसार भदौ असोज महिना तिर अलि बढि पर्यटक आउँछन् । पर्यटकहरू सल्लेरीदेखि घोडा चढी रारा मिली किनारसम्म पुग्दा व्यवसायीले एउटा घोडाको एक हजार, सल्लेरीदेखि रारा हुटुसम्म एक हजार ५ सय, सल्लेरीदेखि मुर्माटपसम्म दुई हजार ५ सय र घोडा चढेर फोटो खिचेबापत ५० रुपैयाँ लिने गरेका छन् । घोडा चढेको दर रेटमा एकरूपता नहुँदा व्यवसायीको मनपरी भने यहाँ कायमै छ । घोडा चढेको दर रेट निर्धारण नहुँदा पर्यटकहरू ठगिने गरेका छन् ।  

रारामा पर्यटकहरूको संख्या घटेपछि घोडा व्यवसाय मात्र होइन, रारामा लामो समयदेखि डुंगा चालक, तालको किनारमा रहेका होटल व्यवसायीको पनि आम्दानी घटेको छ । हिजोआज रारा घुम्न आउने आन्तरिक पर्यटकहरू दैनिक १०  देखि २० जनासम्म हुने गरेको रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत विश्व बाबु श्रेष्ठले बताए ।