अल्मुताईरीलाई वर्ष उत्कृष्ट प्रशिक्षक अवार्ड

अल्मुताईरीलाई वर्ष उत्कृष्ट प्रशिक्षक अवार्ड



काठमाडौं । १९ औं संस्करणको एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड-२०७८ अन्तर्गत वर्ष प्रशिक्षक अवार्ड नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले जितेका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार कमलादीस्थित प्रज्ञा भवनमा एक विशेष समारोहकाबीच अल्मुताईरीलाई वर्ष प्रशिक्षक अवार्ड प्रदान गरेको हो ।

अवार्डका लागि अलमुताइरीसँगै, क्रिकेटका अस्ट्रेलियन डेभ ह्वाटमोर, पारा तेक्वान्दोका कविराज नेगी, बक्सिङका दीपक महर्जन र भलिबलका जगदीश भट्ट मनोनयनमा परेका थिए । उनीहरुलाई पछि पार्दै अवार्ड जितेका अलमुताइरले पल्सर मोटरसाइकल पुरस्कार पाएका छन् ।

नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक रहँदा विवादै विवादमा परे पनि अलमुताइरीले नेपाललाई पहिलो पटक एसियन कप छनोटको तेश्रो चरणसम्म पुर्‍याएका थिए ।

उनकै प्रशिक्षणमा माल्दिभ्समा भएको साफ च्याम्पियनसीपमा नेपाल फाइनलसम्म पुगेको थियो । यस्तै अफ्रिकी देश मोरिसससँग खेलेका दुई वटा मैत्रीपूर्ण खेल पनि नेपालले जितेको थियो ।