उषालाई पिपुल्स च्वाइस अवार्ड

उषालाई पिपुल्स च्वाइस अवार्ड



काठमाडौं । एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड- २०७८ अन्तर्गतको पिपुल्स च्वाइस विधाको अवार्ड भलिबलकी उषा भण्डारीले जितेकी छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार आयोजना गरेको अवार्ड कार्यक्रममा उषालाई पिपुल्स च्वाइस अवार्डको विजेता घोषणा गरिएको हो ।

खेल पत्रकार, राष्ट्रिय प्रशिक्षक र समर्थकको भोटिङबाट सर्वाधिक मत प्राप्त गर्दै उषाले अवार्ड जितेकी हुन् ।

अवार्ड जित्ने क्रममा उषाले मनोनयनमा परेका फुटबलका अन्जन विष्ट, क्रिकेटका आसिफ शेख, टेनिसकी अभिलाषा विष्ट र पौडीकी डुवाना लामालाई पछि पारिन् ।

पिपल्स च्वाइस विधाको लागि ईसेवाको मतभार ५० प्रतिशत रहेको थियो । त्यसैगरी, सामाजिक सञ्जाल (फेसबुक लाइक) को मतभार २५ प्रतिशत, राष्ट्रिय प्रशिक्षकको मतभार १२ दशमलब ५ प्रतिशत र खेलपत्रकारको मतभार १२ दशमलब ५ प्रतिशत रहेको थियो ।