राष्ट्रपति निर्वाचनको तयारी पूरा, भोलि साँझ नै मत परिणाम सार्वजनिक गर्ने

राष्ट्रपति निर्वाचनको तयारी पूरा, भोलि साँझ नै मत परिणाम सार्वजनिक गर्ने



काठमाडौं । राष्ट्रपति निर्वाचनको तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवास चन्द्र नेम्वाङ उम्मेदवार छन् । आयोगका अनुसार भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान समय तोकिएको छ ।

बानेश्वरस्थित संसद भवन परिसरमा दुई वटा मतदान केन्द्र बनाइएको छ । संघीय संसदका लागि एउटा र प्रदेशसभा सदस्यहरुलाई अर्को मतदान केन्द्र बनाइएको हो ।

राष्ट्रपति चुनावमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेश सभा सदस्य पाँच सय ५० मतदाता छन् । मतदानका लागि महिला र पुरुषका लागि बेग्लाबेग्लै लाइनको व्यवस्था गरिएको छ । चुनावलाई व्यवस्थित गर्न मतदाता र मिडियाकर्मीका लागि विश्राम गर्ने बेग्लाबेग्लै पालसहितको ठाउँकाे व्यवस्था मिलाइएको छ ।

चुनावका लागि सङ्घीय सांसदको मतदान केन्द्रमा उच्च अदालत पाटनका उपरजिस्टार केशव पौडेल र प्रदेश सभा सदस्यको मतदान केन्द्रमा सर्वाेच्च अदालतका उपरजिस्टार लोकनाथ पराजुली खटिएका छन् ।

चुनाव र मतगणनाका लागि आवश्यक पर्याप्त सुरक्षा व्यवस्थाका साथै दुवै मतदान केन्द्रमा सात–सात जनाको कर्मचारीको टोली खटिनेछ ।

मतदान केन्द्रभित्र मोबाइल लैजान पाइने छैन । यदि कसैले मोबाइल लगे निर्वाचन कसूर हुनेछ । चुनावमा मतदानका लागि सबै प्रदेशका सांसदहरू काठमाडौं आइपुगिसकेका छन् ।

निर्वाचन अधिकृत महेश शर्माका अनुसार ३ बजेसम्म लाइनमा बसेका मतदाताहरुले मतदान गर्न पाउनेछन् । चार बजेबाट मत गणना सुरु गर्ने र साँझ ७ बजे मत परिणाम घोषणा गर्ने तयारी गरिएकाे छ ।