नारी दिवसमा महिला कैदीबन्दीलाई टेलिभिजन

नारी दिवसमा महिला कैदीबन्दीलाई टेलिभिजन



तनहुँ । एक सय १३औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा महिला कैदीबन्दीका लागि टेलिभिजन प्रदान गरिएको छ । जिल्ला कारागार तनहुँमा रहेका महिला कैदीबन्दीलाई समसामयिक गतिविधि हेर्न र बुझ्न सहज बनाउने उद्देश्यले व्यास नगरपालिकाले टेलिभिजन प्रदान गरेको हो ।

महिला कैदीबन्दी रहेको ब्लकमा टेलिभिजन नभएको र उनीहरूलाई समसामयिक गतिविधि जान्ने अधिकार प्राप्त भएको जिल्ला कारागार तनहुँका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

“महिला कैदीबन्दीका लागि टेलिभिजन नगर उपप्रमुख इन्दिरा दरैलगायत व्यास नगरपालिकाका जनप्रतिनिधिले आज कारागारलाई हस्तान्तरण गर्नुभएको छ”, अधिकारीले भने । नगरपालिकाले ३२ इन्चको टेलिभिजन महिला कैदीबन्दीको ब्लकका लागि सहयोग गरेको उनले बताए ।

महिला बन्दीगृहमा रहेर विविध मुद्दामा कैद सजाय भोगिरहेका कैदीबन्दीलाई देशको गतिविधि तथा खेलकुदका गतिविधि हेर्न, बुझ्न पाउने अधिकारलाई पूर्ति गर्न नगरपालिकाले सहयोग गरेको व्यास नगरपालिकाका उपप्रमुख दरैले जानकारी दिइन् ।

जिल्ला कारागार तनहुँमा तीनवटा ब्लकमा कैदीबन्दी रहेका छन् । ए र बी ब्लकमा पुरुष कैदीबन्दी रहेका छन् भने सी ब्लकमा महिला कैदीबन्दी राखिएको छ । महिला १६ र पुरुष दुई सय ८६ कैदीबन्दी रहेको जिल्ला कारागार तनहुँले जनाएको छ ।