प्रधानमन्त्री दाहालसहित गठबन्धनका शीर्ष नेताले गरे मतदान

प्रधानमन्त्री दाहालसहित गठबन्धनका शीर्ष नेताले गरे मतदान



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति पदको निर्वाचनमा मतदान गरेका छन् ।

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएको सङ्घीय सांसद मतदान केन्द्रमा उनले मतदान गरेका हुन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहितका नेताहरुले पनि मतदान गरिसकेका छन् । राष्ट्रपतिका दुवै उम्मेदवार रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङले यसअघि नै मतदान गरिसकेका छन् ।

बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म जारी रहने सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिए । तेस्रो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले) का सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् ।

कांग्रेसका पौडेल कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको साझा उम्मेदवार हुन् ।