प्रधानमन्त्रीविरुद्धको रिटकाे सुनुवाइ भोलिका लागि सर्‍यो

प्रधानमन्त्रीविरुद्धको रिटकाे सुनुवाइ भोलिका लागि सर्‍यो



काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको रिट बिहीबार हेर्न नभ्याउने हुँदै स्थगित भएको छ । सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा रिट परेको थियो ।

हेर्न नभ्याउने हुँदै स्थगित भएर भोलिका लागि पेसी तोकिएको अदालत स्रोतले जानकारी दिएकाे छ ।

०७३ साल माघ १ गते काठमाडौंको टुँडिखेलमा आयोजित एक कार्यक्रममा प्रचण्डले द्वन्द्वकालीन समयमा भएका पाँच हजारजनाको हत्याको जिम्मेवारी आफूले लिने बताएका थिए ।

सो अभिव्यक्तिबमोजिम उनीमाथि छानबिन तथा अभियोजन हुनुपर्ने माग गर्दै ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकीलगायत व्यक्तिले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

यसअघि, उनीहरूको रिट अदालत प्रशासनबाट दरपीठ भएको थियो । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले दरपीठको आदेश शुक्रबार बदर गरेको थियो । दरपीठ आदेश बदर भएसँगै गएको मंगलबार प्रचण्डविरुद्ध अदालतमा रिट दर्ता भएको हो ।