राष्ट्रपति निर्वाचनकाे मतदान सकियो, केहीबेरमा मतगणना

राष्ट्रपति निर्वाचनकाे मतदान सकियो, केहीबेरमा मतगणना



काठमाडौं ।  राष्ट्रपति निर्वाचनको मतदान सकिएको छ । निर्वाचन अधिकृतको कार्यालयका सहायक मतदान अधिकृत अमृता भण्डारीका अनुसार संघीय संसदतर्फ ३ सय १३ र प्रदेशसभातर्फ ५ सय १८ मत खसेको छ ।

बिहीबार १० बजेदेखि सुरु भएको राष्ट्रपति निर्वाचनको मतदान कार्यक्रम दिउँसो ३ बजे सकिएको हो । राष्ट्रपति निर्वाचनको मतगणना ४ बजेदेखि गर्ने तयारी भएको छ । राष्ट्रपतिमा निर्वाचितलाई बिहीबार साँझ नै निर्वाचित भएको प्रमाणपत्र दिने गरी निर्वाचन अधिकृतको कार्यालयले तयारी गरेको छ ।

राष्ट्रपतिमा रामचन्द्र पौडैल र सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् । पौडेल कांग्रेसबाट सत्तारुढ गठबन्धनका उम्मेदवार हुन् भने नेम्वाङ एमालेका उम्मेदवार हुन् ।

निर्वाचनको मतदान सकिएसँगै मगणनाका लागि प्रतिनिधि तोकिएका छन् । पौडेलकाे तर्फबाट नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक प्रतिनिधि तोकिएका छन् । नेम्वाङका तर्फबाट एमाले सांसद महेश वर्तौला प्रतिनिधि तोकिएका छन् ।