ए डिभिजन लिग : जावलाखेलको लगातार दोस्रो जित

ए डिभिजन लिग : जावलाखेलको लगातार दोस्रो जित



काठमाडौं । जावलाखेल युथ क्लबले नयाँ सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार भएको खेलमा न्युरोड टिम एनआरटीलाई २-१ गोल अन्तरले हराउँदै जावलाखेलले लगातार दोस्रो जित निकालेको हो ।

जावलाखेलको जितमा कप्तान सिमान्त थापा र फोडे फोफानाले एक-एक गोल गरे । एनआरटीका सन्जिब विष्टले एक गोल फर्काए । खेलको ६८ औं मिनेटमा सिमान्तले गोल गर्दै जावलाखेललाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ७७ औं मिनेटमा फोफानाले गोल गर्दा जावलाखेल २-० ले अघि रह्यो ।

त्यसपछि खेलको ८० औं मिनेटमा दोस्रो हाफमा मैदान छिरेका एनआरटीका सन्जिबले गोल गरेपनि जावलाखेल २-१ ले विजयी भयो ।

जितसँगै जावलाखेलले २ खेलमा ६ अंक जोडेको छ । जावलाखेलले पहिलो खेलमा मछिन्द्र फुटबल क्लबलाई हराएको थियो । एनआरटीको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा एनआरटीलाई सातदोबाटो युथ क्लबले हराएको थियो ।