म्यानचेस्टर युनाईटेडद्वारा रियल बेटिस पराजित

म्यानचेस्टर युनाईटेडद्वारा रियल बेटिस पराजित


ग्लोब नेपाल
108
Shares

लन्डन । युरोपा लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले स्पेनको रियल बेटिसलाई पराजित गरेको छ । बिहीबार राति राउण्ड अफ १६ अन्तर्गतको पहिलो लेगको खेलमा युनाइटेडले बेटिसलाई ४–१ ले पराजित गरेको हो ।

युनाइटेडको जितमा मार्कुस राषफोर्ड, एन्टोनी, ब्रुनो फर्नान्डेज र वोउट वेगहर्स्टले गोल गरे । रियल बेटिसका आयोजे पेरेजले एक गोल गरे ।

खेलको छैटौं मिनेटमा मार्कुस राषफोर्डले गोल गर्दै युनाईटेडलाई सुरूवाती अग्रता दिलाएका थिए । ३२ औं मिनेटमा पेरेजले गोल गर्दै बेटिसलाई १–१ को बराबरीमा ल्याए ।

५२ औं मिनेटमा एन्टोनीले गोल गर्दै युनाईटेडलाई २–१ ले अघि बढाए । ५८ औं मिनेटमा फर्नान्डेजले गोल गर्दै युनाईटेडलाई ३–१ ले अघि बढाए । त्यसपछि ८२ औं मिनेटमा वेगहर्स्टले गोल गर्दै युनाईटेडलाई ४–१ को जित दिलाए । अब यी दुई टोलीबीचको दोस्रो लेग बेटिसको मैदानमा मार्च १६ मा हुनेछ ।

स्पोर्टिङ लिस्बनसँग बराबरीमा रोकियो आर्सनल
राउण्ड अफ १६ अन्तर्गत पहिलो लेगमा आर्सनल स्पोर्टिङ लिस्बनसँग बराबरीमा रोकिएको छ । बिहीबार राति भएको खेलमा आर्सनल लिस्बनसँग २–२ को बराबरीमा रोकिएको हो ।

खेलको २२ औं मिनेटमा विलियम सालिबाले गोल गर्दै आर्सनललाई सुरूवाती अग्रता दिलाएका थिए । ३४ औं मिनेटमा गोन्कालो इनासियोले गोल गर्दै लिस्बनलाई १–१ को बराबरीमा ल्याए । ५५ औं मिनेटमा पाउलिन्होले गोल गर्दै लिस्बनलाई २–१ को अग्रता दिलाए । तर, ६२ औं मिनेटमा लिस्बनका हाइडमासा मोरिटाले आत्मघाती गोल गरेपछि आर्सनल २–२ गोलको बराबरीमा रोकिएको हो ।

अब दुई टोलीबीचको दोस्रो लेग आर्सनलको मैदानमा मार्च १७ मा हुनेछ ।