६९ वर्षमा पाए धनमानले नागरिकता

६९ वर्षमा पाए धनमानले नागरिकता



लमजुङ । लमजुङको दोर्दी गाउँपालिका ५ उपल्लो पाचोकका वृद्ध धनमान घलेले ६९ वर्षको उमेरमा नेपाली नागरिकता प्रमाणपत्र पाएका छन् । 

जिल्ला प्रशासन कार्यालय लमजुङबाट अशक्त अवस्थाका वृद्ध घलेलाई बुधबार उनकै घरमा पुगेर नागरिकता प्रमाणपत्र प्रदान गरिएको हो । प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले घलेलाई घरमै पुगेर नागरिकता प्रदान गरेका हुन ।

 वृद्धावस्थामा नागरिकता पाएपछि खुशी हुँदै घलेले धन्यवाद दिए । वृद्धावस्थामा समेत नागरिकता नलिएको जानकारी आएपछि अशक्त अवस्थाका सेवाग्राहीलाई घरमै पुगेर नागरिकता दिइएको प्रमुख जिल्ला अधिकारी पुरीले बताए  । अप्ठ्यारोमा परेका नागरिकको घरदैलोमा पुगेरै सेवा दिनु कर्मचारीको दायित्व रहेको र सो दायित्व पूरा गरेको उनको भनाइ छ ।

 नागरिकता नहुँदा  वृद्धाभत्ता लिन, भूकम्पले बनाएको घर बनाउन र जग्गा जमिनको नामसारी लगायतका सरकारी कामकाजमा समस्या परेको गाउँपालिका उपाध्यक्ष विच्छबहादुर घलेले बताए  । नागरिकता पाएसँगै ति सबै कामकाजको लागि सहज हुने उनको भनाई छ ।