विश्वकप लिग–२ : पीएनजीद्वारा यूएईलाई २४७ रनको लक्ष्य

विश्वकप लिग–२ : पीएनजीद्वारा यूएईलाई २४७ रनको लक्ष्य



काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृंखलामा पपुवा न्युगिनी (पीएनजी)ले युनाइटेड अरब इमिरेट्स (यूएई) सामु २४७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेपछि ब्याटिङमा आएको पीएनजीले तीन ब्याट्सम्यानको अर्धशतकमा निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २४६ रनको योगफल खडा गर्‍यो ।

पीएनजीका सेसे बाउले १०६ बलमा १० चौकासहित ८१ रन बनाए । बाउले दोस्रो विकेटका लागि हिरी हिरीसँग ११२ रनको साझेदारी गरेका थिए । हिरी हिरीले ८५ बलमा पाँच चौका र चार छक्कासहित ७७ रन बनाए ।

हिरीले पहिलो विकेटका लागि अर्का ओपनर किप्लिन डोरिगाले ७२ रनको साझेदारी गर्दै पीएनजीलाई बलियो सुरुआत दिलाएका थिए । डोरिगाले ४४ बलमा आठ चौका र दुई छक्कासहित ५५ रन बनाए । तर, मध्यक्रम ब्याटरबाट आशाअनुरुपको प्रदर्शन हुन नसकेपछि पीएनजी ठूलो योगफलसम्म पुग्न भने सकेन ।

पीएनजीका चाड सोपर र नोर्मन भानुअले समान १० रन बनाए । कप्तान असद भाला ‘गोल्डेन डक’ भएका थिए ।

यूएईका आयान अफ्जल खानले तीन विकेट लिए । १० ओभर बलिङ गरेका अफजलले तीन मेडन फ्याक्दै ३४ रनमात्र खर्चिए । जुनैद सिद्दिकीले र जहुर खानले समान दुई विकेट लिए । रोहन मुस्तफा र कार्थिक मयप्पनले एक–एक विकेट लिए ।

नेपाल, यूएई र पीएनजी सम्मिलित यो शृंखला लिग–२ को अन्तिम शृंखला हो । शृंखलाको पहिलो खेलमा पीएनजी नेपालसँग ५२ रनले पराजित भएको थियो । यूएईको भने यो शृंखलाको पहिलो खेल हो । लिग–२ को शीर्ष तीनमा रहने सम्भावना कायम राख्न यूएई जितको दबाबमा छ । यता, पीएनजीको भने शीर्ष पाँचमा अटाउने सम्भावनासमेत समाप्त भइसकेको छ ।

३२ खेलबाट ३१ अंक जोडेको यूएई तालिकाको छैटौं स्थानमा छ । ३३ खेलबाट नौ अंक जोडेको पीएनजी पुछारमा छ । यस्तै, ३३ खेलबाट ३४ अंक जोडेको नेपाल तालिकाको पाँचौ स्थानमा छ ।