एआईजी बढुवामा चलखेल: सिनियरलाई छाडेर जुनियरलाई फुली

एआईजी बढुवामा चलखेल: सिनियरलाई छाडेर जुनियरलाई फुली

पहिलो नम्बरमा वसन्तबहादुर कुँवर



काठमाडौं । गृह मन्त्रालयको बढुवा समितिले नेपाल प्रहरीका ३ जना सिनियर प्रहरी नायब महानिरीक्षक (डिआईजी) लाई छोडेर जुनियर ५ जनालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ । आईजीपी धीरजप्रताप सिंहकै व्याची तीन जना मसाउद आलम खाँ, नलप्रसाद उपाध्याय र मोहनकुमार आचार्यलाई पाखा लगाएर वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआईजीमा बढुवा गर्न सिफारिस गरिएको छ ।

डिआईजी खाँ, उपाध्याय र आचार्य आईजीपी सिंहसँगै चैत १० गते अनिवार्य अवकासमा जाँदैछन् । निर्वाचनका बेला खाँ प्रदेश २ मा, उपाध्याय प्रदेश ५ र आचार्य प्रदेश ७ मा प्रमुखको जिम्मेवारीमा खटिएका थिए । उनीहरुको कार्यक्षमता अन्यको तुलनामा उच्च हुँदाहुँदै पनि प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहको कोपभाजनमा परे ।

फोर्समा सिनियरलाई पाखा लगाएर जुनियरलाई बढुवा गर्दा चेन अफ कमाण्डमा धक्का लाग्ने मात्र होइन, संगठनप्रति नै गम्भीर आघात पुग्ने अवकासप्राप्त एक डिआईजीले ग्लोब नेपाललाई बताए । प्रहरी सेवामा ३० वर्षे सेवाअवधि हटाउने प्रयास जारी राखेका आईजीपी सिंह एआईजी बढुवामा ठूलै रकम संकलन गरेको प्रहरी संगठनभित्र चर्चा छ । अहिले बढुवा भएकामध्येबाटै आईजीपी बन्ने भएकाले डिआइजीहरु आईजीपीलाई जति रकम बुझाउन पनि तयार देखिएका छन् ।

भावी प्रहरी महानिरीक्षक चयन हुनु १५ दिन अघि उनीहरु एआईजीमा बढुवा भएका हुन् । अहिलेको ३० वर्षे सेवा अवधि कायमै रहे प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह १० चैतबाट अनिवार्य अवकाशमा जानेछन् । त्यसपछि अहिले एआईजी भएका ५ जनामध्येबाटै आईजीपी छनौट हुनेछ ।

यद्यपि, अहिलेका महानिरीक्षक सिंहले ३० वर्षे सेवा अवधि हटाएर जागिर लम्ब्याउन लबइङ गरिरहेका छन् । उनको यही प्रयासका कारण ५ एआईजीको दरबन्दी रिक्त हुँदाहुँदै पनि बढुवा भएको थिएन । आज (शुक्रबार) पनि बढुवा नभएको भए डीआईजीबाटै आईजीपी चयन गर्नुपर्ने अवस्था आउन सक्थ्यो ।

आईजीपीका बलिया प्रतिष्पर्धी मानिएका अशोक सिंहले नागरिकता विवादबीच राजीनामा दिएपछि भएको बढुवामा सिनियर डिआईजीहरु छोडेर जुनियर डिआईजीहरु एआईजी बढुवामा सिफारिस भएका छन् । सिफारिसमाथि एक साताभित्र मन्त्रिपरिषद्ले निर्णय गर्ने व्यवस्था छ ।