राष्ट्रपतिको शपथ समारोहमा सहभागी हुँदै छन् पौडेलका ४ ‘विशेष अतिथि’

राष्ट्रपतिको शपथ समारोहमा सहभागी हुँदै छन् पौडेलका ४ ‘विशेष अतिथि’



काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार दिउँसो १ बजे शीतल निवासमा शपथ ग्रहण गर्दै छन् । शपथ समारोहमा प्रधानमन्त्री, मन्त्री, पूर्वप्रधानमन्त्रीहरू, सांसदहरू संवैधानिक निकायका पदाधिकारीदेखि कूटनीतिक नियोगका अधिकारीहरू बोलाउने नियमित सूचीका साथै यसपटक चार जना विशेष अतिथिलाई पौडेलले शपथ समारोहमा बाेलाएका छन् ।

ती अतिथिहरु नवनिर्वाचित राष्ट्रपति पौडेलकाे शपथ समारोहमा उपस्थित हुने बताइएकाे छ । पौडेलले आफू जेल रहँदाका मित्रहरूलाई बोलाएका हुन् ।

ईन्दु शर्मा, गोविन्द कँडेल, रघुपति शर्मा राष्ट्रपति रामचन्द्र पौडेलसँगै जेल बसेका मानिस हुन् । त्यस्तै बागलुङ जेलमा बस्दा जेलमा दूध पुर्‍याउने व्यक्ति डिलप्रसाद सापकोटा (सापकोटा बाजे) सहभागी हुने पौडेलको सचिवालयले जानकारी दिएको छ । सापकोटा बाजे बागलुङबाटै काठमाडौं आउँदै छन् ।

नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि संघीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ । नवनिर्वाचित राष्ट्रपति पौडललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनेछन् ।

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए ।