निवर्तमान राष्ट्रपति भण्डारीको शीतल निवासबाट बिदाइ

निवर्तमान राष्ट्रपति भण्डारीको शीतल निवासबाट बिदाइ



काठमाडौं । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई सोमबार बिदाई गरिएको छ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको शीतलनिवासमा आयोजित शपथ ग्रहण कार्यक्रमसँगै भण्डारीलाई बिदाइ गरिएको हो ।

नेपाली सेनाको टाेलीले निवर्तमान राष्ट्रपति भण्डारीलाई बिदाइका क्रममा २१ ताेपकाे सलामी अर्पण गरेको थियो । साथै निवर्तमान राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले बिदाइका क्रममा सरकारका तर्फबाट उपहार प्रदान गरेका थिए ।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की लगायतको उपस्थिति रहेको थियो ।

भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलोपटक निर्वाचित भएकी थिइन् । त्यसपछि पनि उनी दोस्रो कार्यकालका लागि २०७४ साल फागुन २९ गते निर्वाचित भएकी थिइन् ।

राष्ट्रपति भण्डारी शीतल निवासबाट बालुवाटारस्थित छोरीको निवासमा गएकी छन् । उनी बुढानीलकण्ठस्थित निजी निवासमा जाने भनिए पनि मर्मतको काम पूरा नभएकाले उनी छोरीको निवासमा गएकी हुन् ।