यस्ताे छ मन्त्रिपरिषद् बैठकले गरेकाे चार निर्णय

यस्ताे छ मन्त्रिपरिषद् बैठकले गरेकाे चार निर्णय



काठमाडौं । सरकारले अतिआवश्यक अवस्थामा बाहेक मन्त्री र कर्मचारीको विदेश भ्रमणमा रोक लगाएको छ ।

मंगलबार मन्त्रिपरिषद्को बसेको बैठकको निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारकी प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले अतिआवश्यक अवस्थामा बाहेक मन्त्री र कर्मचारीको विदेश भ्रमणमा रोक लगाइएको जानकारी दिइन् ।

उनले् नेपाल सरकारका मन्त्रीहरु र अन्य उच्च पदस्थ कर्मचारीले अब उप्रान्त अतिआवश्यक अवस्थामाबाहेक वैदेशिक भ्रमण नगर्ने बताइन् ।

त्यसैगरी, सरकारले उच्चस्तरीय तलब सुविधा आयोगको प्रतिवेदन कार्यान्वयनका लागि सहजीकरण समिति गठन गर्ने निर्णय गरेको छ । प्रवक्ता शर्माले उच्चस्तरीय तलब सुविधा आयोगको प्रतिवेदन कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति गठन गर्ने निर्णय गरेको जानकारी दिइन् ।

पूर्वमुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा उच्चस्तरीय तलब सुविधा आयोग गठन गरिएको थियो । उक्त आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि सहजीकरण समिति गठन गर्ने निर्णय परिएको हो ।

सरकारले नेपाल र संयुक्त राज्य अमेरिकाबीच अध्ययन भिसा शुल्कमा एक रुपता कायम गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकमा तल्लो लिखु जलविद्युत् आयोजनालाई वन क्षेत्र उपयोग गर्न दिने निर्णय पनि गरेको छ । प्रवक्ता तथा शर्माले तल्लो लिखु जलविद्युत् आयोजनाको १३२ केभी प्रसारण लाइन निर्माणको लागि वन क्षेत्र उपयोग गर्न दिने निर्णय गरेको जानकारी दिइन् ।