काठमाडौं । नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहीबार भएको आईसीसी क्रिकेट विश्वकप लिग-२ को अन्तिम खेलमा नेपालले युएईलाई डीएल पद्दतिको आधारमा ९ रनले हराएको हो ।
यस जितसँगै नेपाल जिम्बावेमा आयोजना हुने विश्वकप छनोटका लागि छनोट भएको छ । कुशल भुर्तेल‚ भीम सार्की‚ आरिफ सेख र गुल्शन झाको अर्धशतकले नेपाल विश्वकप क्वालिफायरमा पुगेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३१० रनको लक्ष्य दिएको छ । १७ ओभरको समाप्तीसँगै नेपालले ४ विकेटको क्षतिमा ९९ रन जोडेको छ ।
यसअघि लिग-२ कै खेलमा गत फेब्रुअरी १४ मा कीर्तिपुरमा नामिबियाले दिएको २८६ रनको लक्ष्य नेपालले पूरा गरेको थियो । नेपालले उक्त खेल ८ विकेट गुमाउँदै जितेको थियो ।
त्यस्तै यूएईका लागि वृत्य अरविन्दले ९४ रन बनाए । १३८ बल सामना गरेका उनले २ छक्का र ८ चौकाको सहयोगमा उक्त योगफल तयार पारेका हुन् । त्यस्तै यूएईका लागि ओपनर मोहम्मद वासिमले ६३ रन बनाए । ४९ बल सामना गरेका उनले ६ छक्का र २ चौकासहित उक्त योगफल तयार गरेका हुन् ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए । ८ ओभरमा २ मेडन राख्दै उनले १९ रन खर्चिए । सोमपाल कामीले ९ ओभरमा १ विकेट लिँदै ७४ रन खर्चिए । त्यस्तै सन्दीप लामिछानेले १० ओभर बलिङ गर्दै १ विकेट लिँदै ८० रन खर्चिए । ललित राजवंशीले भने १० ओभरमा २७ रन खर्चिएर १ विकेट लिए । त्यस्तै ८ ओभरमा गुल्सन झाले ६३ रन खर्चिए । ४ ओभरमा कुशल मल्लले ३८ रन दिँदा आरिफ शेखले १ ओभरमा ६ रन दिए ।
बिहीबारको खेल नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठूलो र महत्त्वको हो । आजको खेल जितेर नेपालले ३९ अंक रहेको नामिबियालाई उछिन्दै जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकपको छनोट खेल्न पाएकाे छ ।
पछिल्लो समय नेपाल उत्कृष्ट लयमा रहेको छ । फेब्रुअरी १४ मा नामिबियालाई कीर्तिपुर मैदानमै हराएयता नेपालले खेलेका ११ खेलमध्ये १० मा जित हात पारेको छ ।
प्रतिक्रिया