खेलकुदलाई उपेक्षित क्षेत्रमा राख्नु हुँदैन : राष्ट्रपति

खेलकुदलाई उपेक्षित क्षेत्रमा राख्नु हुँदैन : राष्ट्रपति



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद क्षेत्रलाई उपेक्षा गर्नु नहुने बताएका छन् । आईसीसी लिग–२ मा तेस्रो स्थान प्राप्त गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुक्रबार शीतलनिवासमा बोलाएर बधाई दिँदै राष्ट्रपति पौडेलले सरकारले खेलकुदलाई उपेक्षित क्षेत्रमा राख्नु नहुने बताएका हुन् ।

नेपाली क्रिकेट टिमले राष्ट्रको इज्जत र गौरवलाई बढाएको उनले बताए । नेपालमा खेलकुद क्षेत्रमा पूर्वाधारको कमी रहेको भन्दै देशको सान राख्न खेलकुद क्षेत्रको पूर्वाधार बढाउनुपर्ने आवश्यकता औंल्याए ।

‘राष्ट्रको इज्जत र गौरवलाई बढाएर तपाईँहरु विश्वकपको यात्राका लागि जाँदै हुनुहुन्छ । मैले हिजो चासो दिएर हेरेँ । असाध्यै राम्रो खेल थियो । दर्शकहरु पनि धेरै प्रफुल्ल हुनुहुन्थ्यो । पूर्वाधारको कमी रहेको छ । तर पनि यस्तो सफलता प्राप्त गर्नुभएको छ, यो ठूलो कुरा हो । यो क्षेत्रलाई पक्कै पनि राज्यले उपेक्षित क्षेत्रमा राख्नु हुँदैन । यसमा त विश्वका देशहरुसँग प्रतिष्पर्धा हुन्छ, देशको सान राख्न खेलकुद क्षेत्रको पूर्वाधार बढाउनुपर्छ, खेलाडीहरुको मनोबल बढाउन सरकारले लाग्नुपर्छ,’ राष्ट्रपति पौडेलले बताए । उनले खेलाडीहरूको मनोबल बढाउन सरकार लाग्नुपर्ने बताए ।