सहिद स्मारक ‘ए’ डिभिजन लिगमा जावलाखेल विजयी

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा जावलाखेल विजयी



काठमाडौं । जावलाखेल युथ क्लबले थ्री स्टार क्लबलाई पराजित गर्दै सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा विजयी हासिल गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा जाउलाखेलले थ्रीस्टार क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी हासिल गरेको हो । जावलाखेलको जितमा विदेशी खेलाडी एन्कोटो मासोबी नायक बने । उनले खेलको १६औँ मिनेटमा गरेको १ गोल नै जाउलाखेलको लागि निर्णायक गोल सावित भयो । यस जितसँगै जावलाखेलले पाँच खेलमा दश अङ्क जोडेको छ । थ्रीस्टारले पाँच खेलमा सात अङ्क जोडेको छ ।

यसैगरी सातदोबाटोस्थित च्यासल मैदानमा आज भएको अर्को खेलमा चर्च ब्वाइज युनाईटेड क्लब र मछिन्द्र फुटबल क्लबले गोलरहित बराबरी खेल्दै एक एक अङ्क बाडेका छन् ।

खेलको निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको हो । यस बराबरी खेलसँगै चर्च ब्वाइजले ५ खेलमा ११ अङ्क जोडेको छ भने मछिन्द्रले ५ खेलमा ५ अङ्क जोडेको छ ।