विराटनगर तनावग्रस्त : प्रदर्शनलाई नियन्त्रणमा लिन चार प्रदर्शनकारी पक्राउ

विराटनगर तनावग्रस्त : प्रदर्शनलाई नियन्त्रणमा लिन चार प्रदर्शनकारी पक्राउ

मुख्यमन्त्रीको पुतला दहन



माेरङ । विराटनगरमा निषेधित क्षेत्र तोडेर मुख्यमन्त्री कार्यालय नजिकै प्रदर्शन गर्ने चार जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

कोशी प्रदेशको नाम पुन: नामकरण गर्नुपर्ने माग गर्दै संयुक्त संघर्ष समितिले निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेपछि उनीहरुलाई पक्राउ गरेको हो ।

प्रदेशसभाबाट काेशी प्रदेश नामकरण गरेकाे विराेधमा आदिवासी जनजाति समुदायले गरेको प्रदर्शन अनियन्त्रित बन्दै गएपछि सशस्त्र प्रहरीले केही राउन्ड हवाई फायर गरेको छ । साथै सुरक्षाकर्मीहरूले दर्जनौं सेल अश्रुग्याससमेत प्रहार गरेका छन् ।

प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समिति गठन गरी आदिवासी जनजाति समुदायले प्रदर्शन गर्दै आएका छन् । आइतबार मुख्यमन्त्रीको कार्यालय अगाडि प्रदर्शनको क्रममा प्रहरीसँग झडप भएको हो ।

प्रदर्शनकारीहरूले निषेधित क्षेत्र ताेडेर सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्न थालेपछि सुरक्षाकर्मीले अश्रुग्यासका साथै हवाई फायर गरेका हुन् । आइतबार दिउँसोसम्म प्रदर्शनकारी र प्रहरीबीच ढुंगामुढा चल्दा विराटनगर तनावग्रस्त बनेको छ ।

आक्रोशित प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालयअगाडि मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पुतला दहन गरेका छन् ।