सोखु खोला र खाङसाङको पुल १० वर्षदेखि अलपत्र

सोखु खोला र खाङसाङको पुल १० वर्षदेखि अलपत्र

पुल नबन्दा स्थानीय आन्दोलित


ग्लोब नेपाल
783
Shares

सिन्धुली । मध्य पहाडी लोकमार्ग अन्तर्गत सिन्धुली जिल्लाको फिक्कल गाउँपालिकाको खाङसाङ खोलामा निर्माणधीन पक्कली पुल र खोसु खोलाको पुल विगत १० वर्षदेखि अलपत्र परेका छन् । सिन्धुलीको फिक्कल गाउँपालिकामा रहेको सोखु खोला पुल नबन्दा खोटाङ, ओखलढुंगा, भोजपुर र उदयपुरका नागरिकले वर्षौदेखि सास्ती व्यहोर्नु परिरहेको छ ।

उक्त पुल पप्पु नेपाल प्रगति जेभिले निर्माणको जिम्मा लिएको थियो । निर्माण कम्पनीले उक्त पुल नबनाएपछि पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजनाले ठेक्का तोडी पुनः बोलपत्र आह्वान गरेको थियो । उक्त पुलको निर्माण कार्यको ठेक्का लोहोनी आत्रेय जेभि सिन्धुलीले लिएर बीचैमा काम छोडेर पुल अलपत्र पारेको छ । यस क्षेत्रका नागरिकले वर्षायाममा पनि विगतमा जस्तै सास्ती व्यहोर्नु पर्ने अवस्था सिर्जना भएपछि स्थानीय आन्दोलित भएका छन् । विगत २–३ दिनदेखि स्थानीयले उक्त क्षेत्रमा चक्काजाम र धर्ना दिइरहेका छन् ।

मध्य पहाडी लोकमार्ग निर्माण आयोजनाका प्रमुख डिई दिपेन्द्र पाण्डेलाई पनि पटक पटक पुल निर्माणको काम अगाडि बढाउन आग्रह गरिएको थियो । तर उनले पनि निर्माणका लागि चासो देखाएनन् । बिवादास्पद पप्पु कन्ट्रक्सनले अलपत्र पारेको उक्त पुलको ठेक्का संझौता रद्द गर्दै आयोजनाले रविन्द्र कुँवर प्रोपाइटर रहेका सिन्धुलीको आत्रेय निर्माण सेवासँग नयाँ संझौता गरेको थियो । सरकारले पप्पु कन्ट्रक्सनलाई कालोसुचीमा राखेपछि आयोजनाले ठेक्का संझौता रद्द गरेको बिबरण बाहिर आएको थियो ।

पुल निर्माण अलपत्र पारिएको बारे आयोजना प्रमुख दिपेन्द्र पाण्डेसँग जिज्ञासा राखेको थियो । हामीले निर्माण कम्पनीका प्रमुख रविन्द्र कुँवरलाई पटक पटक काम गर्न आग्रह गरेका थियौं, तर अहिले त फोन नैं उठाउन छोडेका छन् । हामीले उनलाई काम गर्ने मौका पनि दियौं तर उनले त कामै गरेनन्, सिन्धुलीको आत्रेय निर्माण सेवा पप्पु कन्ट्रक्सन भन्दा पनि खराब देखियो, आयोजना प्रमुख पाण्डेले भने ।