रविलाई राहदानीकाे मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णय

रविलाई राहदानीकाे मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णय



काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले राहदानी दुरुपयोग गरेको मुद्दा नचलाउने निर्णय गरेको छ । महान्यायाधिवक्ता दीनमणि पोखरेलले मुद्दा नचल्ने निर्णय गरेका हुन् ।

तलबाट सिफारिस भएर आएको प्रतिवेदन अनुसार मुद्दा नचलाउने निर्णय भएको बताइएकाे छ । प्रधानमन्त्रीलाई विश्वासको मत दिने सवालमा लामिछानेले आफ्नो मुद्दा नचलाउने निर्णय हुनुपर्ने लबिङ गरेका थिए । सोमबार पनि सभापति लामिछाने र संसदीय दलका कार्यवाहक नेता डोलप्रसाद अर्यालले प्रधानमन्त्री दाहाल र महान्यायाधिवक्ता पोखरेललाई दबाब दिएका थिए । सोमबार अर्याल महान्यायाधिवक्ता पोखरेललाई भेट्न कार्यकक्षमा नै पुगेका थिए ।

अमेरिकी नागरिकका हैसियतमा नेपाल आएर राहदानी लिएको भएपनि लामिछानेलाई मुद्दा नलाग्ने निर्णय जिल्ला प्रहरी परिसर टेकु, जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं र उच्च अदालत सरकारी वकिलको कार्यालयले गरेका थिए । जिल्ला र उच्च अदालतको प्रतिवेदन महान्यायाधिक्ताकहाँ पुगेपछि सोमबार त्यहाँबाट पनि मुद्दा नचल्ने निर्णय भएको हो ।

लामिछानले १० फागुन २०५० मा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता प्रमाणपत्र लिएका थिए । अमेरिका गएपछि उनले २१ फेब्रुअरी २०१४ (९ फागुन २०७०) मा त्यहाँको नागरिकता प्राप्त गरे ।

अमेरिकाको नागरिकता पाएपछि ११ मे २०१५ (२८ वैशाख २०७२) मा उनी नेपाल फर्किए र १३ जेठमा पुरानै नागरिकता देखाएर नेपाली राहदानी लिए । लामिछाने नेपाल फर्कंदा अमेरिकाको नागरिकता त्यागेका थिएनन् ।

सर्वोच्च अदालतले ३ माघ २०७९ मा विदेशको नागरिकता लिनेहरुको नेपाली नागरिकता कायम नरहने व्याख्या गरेको छ । ‘कायम नभएको’ नेपाली नागरिकता देखाएर लामिछानेले नेपाली राहदानी लिएको भन्दै अनुसन्धान गर्न प्रहरीमा उजुरी परेको थियो ।