भारतमा खेल्ने मौका पाए नेपालले ४ वर्षमा टेस्ट खेल्न सक्छ : मुख्य प्रशिक्षक देसाई

भारतमा खेल्ने मौका पाए नेपालले ४ वर्षमा टेस्ट खेल्न सक्छ : मुख्य प्रशिक्षक देसाई



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले नेपाली टिमले भारत र रणजी ट्रफीमा खेल्न पाउनुपर्ने बताएका छन् । देसाईले आयरल्यान्ड र स्कटल्यान्डका क्रिकेटरले इंग्ल्यान्डमा खेल्ने गरेको उदारहण प्रस्तुत गर्दै नेपालले पनि भारत र रणजी ट्रफीमा खेल्न पाउनुपर्ने बताएका हुन् ।

गएको माघ २३ गते देसाई औपचारिक रूपमा नेपाली टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । क्रिकबजसँग उनले नेपाली क्रिकेटको विकासका लागि आईसीसी र एसीसीका अध्यक्ष तथा भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)का सचिव जय साहसँग छलफल गरिरहेको बताएका छन् ।

“मैले आईसीसी र जय भाइ (जय साह बीसीसीआईका सचिव र एसीसीका अध्यक्ष)सँग यसबारे कुरा गरेँ । स्कटल्यान्ड र आयरल्यान्डका खेलाडीले इंग्ल्यान्डमा खेल्छन् भने हामीले पनि भारत र रणजी ट्रफीमा खेल्न पाउनुपर्छ । यदि, नेपालले यसरी खेल्न पायो भने हामी चार वर्षमा टेस्ट राष्ट्र बन्नेछौँ,” देसाईले भने, “नेपालका सबै छिमेकी मुलुकहरू आईसीसीका पूर्ण सदस्य छन् । जसमा अफगानिस्तान पनि सामेल छ । अझ अफगानिस्तान र नेपालले एकै समयमा क्रिकेट खेल्न सुरु गरेका हुन् ।”

गत माघ २३ मा मात्रै नेपालको मुख्य प्रशिक्षक सम्हालेका देसाईले पछिल्ला १२ मध्ये ११ महत्त्वपूर्ण खेलमा जित दिलाउँदै नेपाललाई विश्वकप क्वालिफायरमा छनोट गराउन सफल भएका छन् ।

देसाईको प्रशिक्षणमा नेपाली टिम घरेलु मैदानमा पछिल्ला आठ खेलयता अपराजित छ । उत्कृष्ट लयसहित नेपाली टिम आईसीसी क्रिकेट विश्वकप लिग–२ को शीर्ष तीन स्थानमा रह्यो । जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप छनोटमा समेत स्थान पक्का गर्‍यो ।

मुख्य प्रशिक्षक देसाईले नेपाली प्रशंसकहरूको पनि प्रशंसा गरेका छन् । ड्रेसिङ रुमबाट रुख-रुखमा प्रशंसकहरूलाई देख्दा आफू चिन्तितसमेत बनेको उनको भनाइ छ । उनी भन्छन्, ‘प्रशंसकहरू जताततै थिए, रुखमा, सडकमा पर्खालमा घरका छतहरूमा । रुखका हाँगा भाँचिन्छ कि भनेर म चिन्तित पनि थिएँ । मैले एसोसियट क्रिकेटमा प्रशंसकको यस्तो क्रेज कहिल्यै देखेको थिइनँ ।’

प्रशिक्षक देसाईले नेपालसँगै क्रिकेट सुरु गरेको छिमेकी मुलुक अफगानिस्तानले आईसीसीको पूर्ण सदस्य बनिसकेको बताएका छन् ।