थ्री नेसन्स कप खेल्ने नेपालको टोली घोषणा, सात नयाँ अनुहार

थ्री नेसन्स कप खेल्ने नेपालको टोली घोषणा, सात नयाँ अनुहार



काठमाडौं । प्रधानमन्त्री कप थ्री नेसन्स कप फुटबल प्रतियोगिता खेल्ने नेपालको टिम घोषणा भएको छ । नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसले मंगलबार २३ सदस्सीय टिम घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

एनीसले घोषणा गरेको टोली ७ जना नयाँ अनुसार छन् । अभिषेक बराल, सनिश श्रेष्ठ, पदम भट्टराई, मणिकुमार लामा, सुमित श्रेष्ठ, नवीन लामा र दीपकराज सिंह ठकुरीलाई पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना थ्री नेसन्स कप चैत ८ देखि १७ गतेसम्म हुँदैछ । प्रतियोगितामा नेपाल, भुटान र लाओसले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताका लागि भुटान र लाओसको टोली सोमबार नेपाल आईसकेका छन् । सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन् ।

प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने एन्फाले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याचले २५० डलर पाउने छन् । प्रतियोगिताको पुरस्कार राशी राष्ट्रिय खेलकुद परिषद (राखेप) ले उपलब्ध गराउने छन् ।

पहिलो खेलमा नेपालले लाओससँग चैत ८ गते खेल्नेछ । चैत ११ गते भुटान र लाओस भिड्ने छन् ।

त्यस्तै चैत १४ गते नेपाल र भुटान भिड्ने छन् । प्रतियोगितामा एन्फाले दुई फरक टिकट दर राखेको छ । सामान्य प्यारापिटतर्फ ५ सय र भीभीआईपीतर्फ १ हजार टिकट दर राखिएको एन्फाले जनाएको छ । टिकट खल्ती एपबाट किन्न सकिनेछ ।

प्रतियोगिताको प्रत्यक्ष प्रशारण एनटिभी प्लसले गर्ने भएको छ । प्रतियोगिताको मार्केटिङ र ब्रोडकाष्टिङ अधिकार पाएको एमडीएसी स्पोर्ट्स प्रालिले प्रतियोगिताको प्रत्यक्ष प्रशारण एनटिभी प्लसले गर्ने जनाएको छ ।

नेपाली टोली –

गोलकिपरः किरण कुमार लिम्बु, दीप कार्की, अभिषेक बराल

डिफेन्डरः सनिश श्रेष्ठ, विकास खवास, अनन्त तामाङ, पदम भट्टराई, आदित्य चौधरी, निशान खड्का

मिडफिल्डरः पुजन उपरकोटी, एरिक विष्ट , नवीन लामा, रोहित चन्द, कमल थापा, मणिकुमार लामा, भरत खवास

फरवार्डः आयुष घलान, नवयुग श्रेष्ठ, दीपक सिंह ठकुरी, अन्जन विष्ट, आशिष चौधरी, सुमित श्रेष्ठ, मनिष डाँगी