अयोग्य लडाकुलाई पैसा बाँड्ने काम उपयुक्त होइन : गगन थापा

अयोग्य लडाकुलाई पैसा बाँड्ने काम उपयुक्त होइन : गगन थापा



काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले द्वन्द्वकालका ‘अयोग्य लडाकु’हरूलाई तत्काल राहतस्वरूप पैसा बाँड्ने काम अहिले उपयुक्त नभएको प्रतिक्रिया दिएका छन् ।

मंगलबार सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै सांसदसमेत रहेका थापाले देश सामान्य खर्च चलाउन पनि ऋण लिने अवस्थामा पुग्न लागेको बेला सरकारले अपरिपक्व निर्णय गरेको बताए ।

“हाम्रो आफ्नो थैली कस्तो छ भन्ने कुरा थाहा भएन, घरमुलीले आफ्नो थैली कस्तो छ भन्ने थाहा पाएन भने अलिपछि त्यो घर कंगाल हुने बाटोमा जान्छ । बाँड्ने कुरा सजिलो र लोकप्रिय कुरा हो,” उनले भने, “म कुनै विषयवस्तुमा जान्न । तर बाँड्ने बेलामा मेरो थैली कस्तो छ भन्ने कुराको बोध नभएको हो कि भन्ने लागेको छ । यस्तो बेलामा गर्न सकिन्न भनेर राज्यको यत्रो ठूलो संरचना छ यो सबै कुराको विषयमा जुन खालको कुरा छ त्यसको बोध र चिन्ता नभएको हो भन्ने चिन्ताको विषय हो ।”

कांग्रेसले यसलाई सच्याउन पहल गर्छ भन्ने प्रश्नमा उनले नेताहरूको तहमा छलफल भइरहेको हुन सक्ने बताए ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रमाणीकरण भएका द्वन्द्वकालका ‘अयोग्य लडाकु’हरूलाई कार्यविधि बनाएर राहत उपलब्ध निर्णय गरेको थियो ।