भौतिक पूर्वाधार क्षेत्रमा पर्याप्त लगानी आवश्यक : उपप्रधानमन्त्री श्रेष्ठ

भौतिक पूर्वाधार क्षेत्रमा पर्याप्त लगानी आवश्यक : उपप्रधानमन्त्री श्रेष्ठ


ग्लोब नेपाल
675
Shares

काठमाडौं । उप–प्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले विकास लागि भौतिक पूर्वाधार क्षेत्रमा पर्याप्त लगानी आवश्यक रहेको बताएका छन् । एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरूको अन्तर्राष्ट्रिय संगठन इफाप्का र नेपाल निर्माण व्यवसायी महासंघले संयुक्त रुपमा विहिवार राजधानीमा गरेको अन्तरक्रियामा उपप्रधानमन्त्री श्रेष्ठले नेपालको हकमा पूर्वाधारमा पर्याप्त लगानी नभएको धारणा राखेका हुन् ।

पर्याप्त लगानी बाहेक निर्माण उद्योगमा गुणस्तरको अभाव तथा समयमा परियोजना नसकिने परिपाटी देखिएको उपप्रधानमन्त्री श्रेष्ठले बताए । ‘पूर्वाधारमा लगानी’ विषयक अन्तरक्रियामा उपप्रधानमन्त्री श्रेष्ठले परम्परागत शैलीमा काम गरेका कारण पनि नेपालको निर्माण उद्योगमा चुनौती थपिएकाले अब नयाँ शैलीमा काम गर्नुपर्ने धारणा व्यक्त गरे ।

निर्माणमैत्री ऐन कानून नहुँदा निर्माण उद्योगमा समस्या देखिएको स्विकार गर्दै उनले समय सापेक्ष ऐन कानून बनाउन नेपाल निर्माण व्यवसायी महासंघ जस्ता संस्थाको महत्वपूर्ण भूमिका रहने बताए । भौतिक पूर्वाधार तथा यातायातको क्षेत्रमा विकास गर्न आफूले विभिन्न कार्यदल गठन गरी काम थालिसकेको जानकारी गराउँदै उपप्रधानमन्त्री श्रेष्ठले आफू सबैसँग सहकार्य गर्न तयार रहेको प्रतिबद्धता जनाए ।

इफाप्का समेत अध्यक्ष रहनु भएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले नेपालमा मात्र नभएर विश्वभरी नै दिगो पूर्वाधार विकासको आवश्यकता बढ्दै गएको बताए । कमजोर वित्तिय अवस्था तथा प्रविधिका कारण नेपाल जस्ता मुलुकलाई दिगो विकासको लक्ष्य हासिल गर्न कठीन भएको अध्यक्ष सिंहले बताए ।

इफाप्काका महासचिव पनि रहनु भएका नेपाल निर्माण व्यवसायी महासंघका सल्लाहकार विरेन्द्र राज पाण्डेले इफाप्काको उद्देश्यमाथि प्रष्ट पार्दै ४६ औं इफाप्का सम्मेलन आगामी मंसिर ४ देखि ८ सम्म काठमाडौंमा आयोजना गर्न लागिएको जानकारी दिए । इफाप्काका कार्यकारी निर्देशक लेभी भी.एसपीरीतुले पूर्वाधारको क्षेत्रमा आ-आफ्नो अनुभव आदानप्रदान गर्न यस्ता कार्यक्रम निकै उपयोगी हुने बताए ।

विश्व वन्यजन्तु कोष नेपालका डाक्टर घनश्याम गुरुङले नेपालमा द्रुत गतिमा पूर्वाधार निर्माण भइरहेको र यही बेला दीगो तथा गुणस्तरीय निर्माणमा ध्यान दिनुपर्ने उपयुक्त समय रहेको टिप्पणी गरे । कार्यक्रमका मुख्यवक्ता एशियाली विकास बैंक पूर्व उपाध्यक्ष डाक्टर.बिन्दुनाथ लोहनीले ठूलो आर्थिक वृद्धि चाहने हो भने पूर्वाधारमा गरिने लगानीमा पनि वृद्धि गर्नुपर्ने धारणा राखे । डा.लोहनीले अबको समयमा सहरी विकासलाई प्राथमिकता दिँदा हरित पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने बताए ।

नेपालका वाणिज्य बैंकले दीर्घकालसम्म लगानी गर्न नसक्ने भन्दै उनले विश्व बैंक, एशियाली विकास बैंक, पूर्वाधार विकास बैंक लगायत मार्फत लगानी ल्याउन फाइदाजनक हुने सुझाव दिए । सम्मेलनमा विज्ञहरूबीच सार्वजनिक निजी साझेदारीको विविध आयाम, खरिद कानून, इपीसी कन्ट्रयाक्ट, दिगो पूर्वाधारका सम्भावना र चुनौती लगायतका विषयमा छलफल भएको थियो । इफाप्का बोर्ड मेम्बर सुशील कुमार श्रेष्ठले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।