साफ यू-१७ महिला च्याम्पियनसिप : रसियासँग नेपाल पराजित

साफ यू-१७ महिला च्याम्पियनसिप : रसियासँग नेपाल पराजित


ग्लोब नेपाल
54
Shares

काठमाडौँ । साफ यू-१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको तेस्रो खेलमा रसियासँग नेपाल पराजित भएको छ।

बङ्गलादेशको ढाकास्थित बिएसएसएस मोस्ताफा कमल स्टेडियममा आइतबार भएको खेलमा रसियाले नेपाललाई ३-० गोल अन्तरले पराजित गरेको हो। खेलको पहिलो हाफमा रसियासँग गोलरहित बराबरीमा खेलेको नेपालले दोस्रो हाफमा ३ गोल खायो।

रसियाको जितमा एलिना गोलिकले २ तथा पोलिना फिलसिनाले १ गोल गरिन्। खेलको ६३औँ मिनेटमा एलिनाले गोल गर्दै रसियालाई सुरुआती अग्रता दिलाएका थिए। खेलको ७४औँ मिनेटमा एलिनाले व्यक्तिगत दोस्रो गोल गर्दै रसियालाई २-० को अग्रता दिलाइन्।

त्यसपछि खेलको ८३औँ मिनेटमा पोलिनाले गोल गर्दै रसियालाई ३-० को जित दिलाइन्। यस जितसँगै रसियाले तीन खेलमा ९ अङ्क जोडेको छ। रसिया शीर्ष स्थानमा उक्लिएको छ। नेपाल तीन खेलमा ३ अङ्क जोडेर चौथो स्थानमा रहेको छ।

प्रतियोगितामा आयोजक बङ्गलादेश, नेपाल, भारत, भुटान र रसियाको सहभागिता रहेको छ। नेपालले राउन्ड रोविन लिगको अन्तिम खेलमा मंगलबार आयोजक बङ्गलादेशसँग खेल्नेछ।