ललितपुर मेयर कप क्रिकेट : आयोजकविरुद्धको खेलमा मधेस विजयी

ललितपुर मेयर कप क्रिकेट : आयोजकविरुद्धको खेलमा मधेस विजयी



काठमाडौं । ललितपुर मेयर्स कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर ११ प्रतियोगिताबाट बाहिरिएको छ । टियु मैदान कीर्तिपुरमा भएको खेलमा मधेशले ललितपुरलाई १ विकेटले पराजित गरेको हो ।

ललितपुरले दिएको ९७ रनको लक्ष्य मधेशले १९ ओभर २ बलमा ९ विकेट गुमाएर पूरा गर्यो । मधेशका लागि सरस्वती चौधरीले ३२ रन बनाईन् । ओपनर अलिशा यादवले सर्वाधिक १६ रन बनाईन् । सिमा कुँवरले १५ रन बनाईन् ।

ललितपुरका लागि सोनी पाख्रिन र कृतिका मरासिनीले समान २/२ तथा कप्तान अस्मिना कर्माचार्य र मनिशा उपाध्यायले समान १/१ विकेट लिईन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुर मेयर्स ११ ले २० ओभरमा ५ विकेट गुमाएर ९६ रन बनाएको हो । ललितपुरका लागि सोनी पाख्रिनले सर्वाधिक ३४ रन बनाईन् । सोनीले ४३ बलमा ३ चौकाको सहयोगमा ३४ रन बनाईन् । लक्ष्मी चौधरीले २७ बलमा २३ रन बनाउँदा श्रृष्टि जैशीले अविजित १५ रन बनाईन् ।

मधेशका लागि सरस्वती कुमारीले २ तथा रोजी कडारी,अनुराधा चौधरी र कप्तान कविता गौतमले समान १र१ विकेट लिईन् । जितसँगै मधेशले पहिलो जितका साथ चौथो स्थानमा रहँदा कमजोर रुपमा फाइनल सम्भावना झिनो रुपमा कायमै रहेको छ । आज नै हुने दोस्रो खेलमा कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशबीचमा प्रतिस्पर्धा हुदैछ । खेल दिउसो १ बजे सुरु हुनेछ ।

पहिलो खेलमा जित निकालेको कोशी दोस्रो खेलमा भने पराजित भएको थियो । आजको खेलमा जित हात पारेर कोशी आफ्नो फाइनल सम्भावना बलियो बनाउन चाहान्छ ।

सुदूर तीन खेलमा दुई जितका साथ दोस्रो स्थानमा रहेको छ । आजको खेल जितेर सुदूर आफ्नो स्थान फाइनलमा पक्का गर्न चाहन्छ ।

प्रतियोगितामा गत माघमा ईटहरीमा सम्पन्न प्रधानमन्त्री कप महिला टी(ट्वान्टी प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका चार टोली तथा आयोजक ललितपुर मेयर्स ११ को टोलीको सहभागीता रहेको छ ।

प्रधानमन्त्री कप २०७९ को सेमिफाइनलमा रहेका सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, नेपाल एपिएफ क्लब र मधेश प्रदेश तथा आयोजक ललितपुर मेयर ११ ले प्रतिस्पर्धा गर्नेछन् ।

लिग चरणको पहिलो र दोस्रो स्थानको टोलीका बीचमा फाइनल हुनेछ। चैत १६ मा प्रतियोगिताको फाइनल खेल रहेको छ ।