भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द

भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द


ग्लोब नेपाल
0
Shares

भक्तपुर । सरकारले भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द गरेको छ । दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको भक्तपुर–नगरकोट सडकखण्ड विस्तार कार्य आठ पटक म्याद थप गर्दा पनि सम्पन्न नभएपछि ठेक्का रद्द गरिएको हो ।

२०७३ असार ३ गतेसम्म सम्पन्न गरेर हस्तान्तरण गर्ने गरी २०७१ साल जेठ २२ गते पहिलो ठेक्का सम्झौता भएको थियो । तर आठ पटक म्याद थप गर्दा पनि १५ किलोमिटर लामो सडक सम्पन्न नभएपछि सरकारले ठेक्का सम्झौता रद्द गरेको हो ।

सडक सुधार तथा विकास परियोजना निर्देशनालयले ठेक्का सम्झौता रद्द गर्ने सूचना जारी गरेको हो । सडक विस्तारको काम सुरु भएको नौ वर्ष बित्दा चार–पाँच वर्षअघि गरेको कालोपत्रसमेत भत्किएको छ । ठेकेदारले कालोपत्र भनेको बाटो अहिले धुलाम्य र खल्डैखाल्डो रहेको छ ।

२७ करोड रुपैयाँमा ठेक्का सम्झौता भए पनि भेरिएयसन गरेर सडक निर्माणको लागत ३१ करोड पुर्‍याइएको थियो । शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन र भारतीय कम्पनी अराभली इन्फ्रापावर लिमिटेडले संयुक्तरूपमा सडक निर्माणको ठेक्का लिएका थिए ।