प्रतिनिधिसभाको शून्य समय : सांसदद्वारा जनताका समस्याहरुबारे सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाको शून्य समय : सांसदद्वारा जनताका समस्याहरुबारे सरकारको ध्यानाकर्षण



काठमाडौं । प्रतिनिधिसभाको आज बसेको बैठकको शून्य समयमा सांसदहरूले मिटरब्याज पीडितको मागको सम्बोधन, नागरिकता विधेयक र सडक निर्माण लगायतका जनताका दैनिक जनजीवनसँग सम्बन्धित विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकको शून्य समयमा बोल्दै नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले नागरिकता विधेयक तत्काल पास गर्न माग गरे । नेपाली नागरिकको बा आमाबाट जन्मेका सन्तानले नागरिकता पाउने संवैधानिक हकका बाबजुद धेरैले नागरिकता पाउन नसकेका उनले बताए । सांसद थापाले भने, ‘आफूहरूबीचको विमतिलाई थाती राखेर जन्मसिद्ध नागरिकता र आमाको नाममा नागरिकता पाउने व्यवस्थालाई ध्यानमा राखेर नागरिकता विधेयक पास गर्नुपर्छ ।’

यस्तै, अर्का सांसद अमरेशकुमार सिंहले मिटरब्याज पीडितको माग पूरा गर्न माग गरे । भने, ‘मिटरब्याज पीडितहरू राज्यको ऐना हो, राज्य कसरी सञ्चालन भइरहेको छ भन्ने ।’ सरकारको गम्भीर ध्यानाकर्षण नभएका कारण मिटरब्याजको समस्या पटक–पटक दोहोरिएको सांसद सिंहको भनाइ थियो ।

नेकपा (एकीकृत समाजवादी) का सांसद अमरबहादुर थापाले दैलेख जिल्लामा २०७२ र २०७९ सालमा भएको प्राकृतिक प्रकोपले क्षति पुगेका बस्ती पुनः स्थापना र व्यवस्थापन हुन नसकेकोतर्फ सरकारको ध्यानाकर्षण गराए । शून्य समयमा बोल्दै नेकपा (एमाले) का सांसद अमरबहादुर रायमाझीले उदयपुर जिल्लाको कटारी लगायतका स्थानमा नापीको काम यथाशीघ्र सुरु गर्न माग गरे ।

नेकपा (एमाले) का सांसद अमृतलाल राजवंशीले झापाका किसान र पशुपालन व्यवसायीले आफ्नो उत्पादन र उपजको उचित मूल्य पाउन नसकेकोप्रति ध्यानाकर्षण गराए । नेकपा (एमाले) का सांसद अमृता अग्रहरिले कपिलवस्तु तिलौराकोटलाई विश्व सम्पदा सूचीमा समावेश गर्न माग गरिन् । उनले तिलौराकोटले हजारौँ वर्षको ऐतिहासिक महत्त्व बोकेको भन्दै विश्व सम्पदा सूचीमा राख्नुपर्ने बताइन् ।

नेपाली काँग्रेसका सांसद अर्जुन नरसिंह केसीले राष्ट्रिय तामाङ सङ्ग्रहालय निर्माणको माग गरे । सांसद अशोककुमार चौधरीले सुनसरीको विभिन्न स्थानमा अलपत्र अवस्थामा रहेको सडकको मर्मत सम्भार र निर्माणमा तीव्रता दिन सरकारको ध्यानाकर्षण गराए ।

नेकपा (एमाले) की सांसद अस्माकुमारी चौधरीले दाङ घोराही उपमहानगरपालिकाका बस्ती वर्षा याममा बाढीको जोखिममा रहेको भन्दै ध्यानाकर्षण गराइन् । उनले तटबन्ध निर्माण र बस्ती व्यवस्थापनमानसमेत ध्यानाकर्षण गराइन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असीम साहले एक महिनादेखि मन्त्रालय मन्त्रीविहीन भएको भन्दै मन्त्रिमण्डल विस्तार तत्काल हुनुपर्ने बताए ।

नेकपा (एमाले)का सांसद ईश्वरबहादुर रिजालले दोलखाका विभिन्न स्थानमा बन्द भएको स्लेट ढुङ्गा खानी तत्काल सञ्चालन गर्न माग गरे । नेकपा (एमाले) का अर्का सांसद ईश्वरी घर्तीले रोल्पामा चिकित्सकको अभावमा जनताले महँगो शुल्कमा उपचार गर्न बाध्य भएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

उनले उपचारका लागि केन्द्र धाउन पर्ने बाध्यताको अन्त्य गर्न विशेषज्ञ चिकित्सकको दरबन्दीका लागि माग गरिन् । जिल्लाका स्वास्थ्य स्वयंसेविकाले राज्यबाट सेवा सुविधा नपाएकोसमेत सदनलाई उनले जानकारी दिइन् ।

नेकपा (एमाले)का सांसद महेश बर्तौलाले संसदमा पटक –पटक संसद्को नियम उल्लङ्घन भएको भन्दै नियमापत्ति जनाए । नेकपा (एमाले) का सांसद एकनाथ ढकालले राष्ट्रिय गौरबका योजनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै बुढीगण्डकी जलविद्युत् आयोजनालाई अन्यौलतर्फ नधकेल्न माग गरे ।

नेपाली कांग्रेसकी सांसद कल्पना चौधरीले ठूलो सङ्ख्यामा युवा जनशक्ति बेरोजगार भएको चर्चा गरिन् । नेपाली कांग्रेसका सांसद कान्तिका सेजुवालले विकट स्थानका विद्यार्थीको खाजा खर्च बढाउन माग गरिन् । कांग्रेसका सांसद सुमदेवी थापाले रुकुमपूर्वको सदरमुकाम २०७४ सालमा तोकिएको नयाँ सदरमुकाम सञ्चालनतर्फ सरकारले ध्यान दिनुपर्ने बताइन् ।

नेकपा (एमाले) का सांसद कृष्णगोपाल श्रेष्ठले चीन सरकारको सहयोगमा निर्माण भएको चक्रपथ अलपत्र अवस्थामा भएको भन्दै मर्मत सुधारको नाममा अलपत्र नपार्न माग गरे ।

नेकपा (माओवादी केन्द्र) का संसद् गङ्गा कार्कीले दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका वडा पाँचमा रहेका थामी बस्ती जोखिममा रहेको भन्दै सरकारले यसतर्फ ध्यान दिन जरुरी रहेको बताइन् ।

नागरिक उन्मुक्ति पार्टीका सांसद गङ्गाराम चौधरीले कमैया प्रथाको मुक्तिको घोषणा गरेर कानुन निर्माण गरे पनि पुनः स्थापना हुन नसकेको बताए । उनले सरकारले आश्वासन मात्र बाँडेको उनले जानकारी दिइन् ।

राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले धनगढी उपमहानगरपालिकामा छ महिनादेखि स्वास्थ्यकर्मीले पारिश्रमिक नपाएको बताए । नेकपा (माओवादी केन्द्र) का सांसद छिरिङ डम्डलु लामा (भोटे) ले हुम्ला जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा जोडन माग गरे । उनले राष्ट्रिय प्रसारण लाइन जोड्न र पर्यटकीय गन्तव्यको रूपमा हुम्ला जिल्लाको विकास गर्नसमेत माग गरे ।

नेकपा (माओवादी केन्द्र) का सांसद छिरिङ ल्हामु लामाले संघीय कर्मचारी ऐनको अभावमा कर्मचारी व्यवस्थापन र वृत्ति विकासमा भद्रगोल भएको बताइन् । नेपाली कांग्रेसका सांसद जीवन परियारले देशव्यापी समस्याको रूपमा रहेको मिटरब्याज पीडितहरूको न्यायका लागि तत्काल निर्णय गर्नुपर्ने बताए । उनले मुसहर बस्तीको व्यवस्थापन गर्न समेत माग गरे ।