एपीएफ लगातार तेस्रो पटक च्याम्पियन

एपीएफ लगातार तेस्रो पटक च्याम्पियन



काठमाडौं । ललितपुर मेयर्स कप महिला ट्वान्टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता उपाधि सशत्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको फाइनलमा एपिएफले कोशी प्रदेशलाई ५४ रनले पराजित गर्दै उपाधि जितेको हो । एपिएफ लगातार तेस्रो पटक उपाधि जितेको हो । एपिएफले यसअघिका दुई संस्करणमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै उपाधि जितेको थियो ।

एपीएफले दिएको १ सय ५५ रनको लक्ष्य पछ्याएको कोशी प्रदेशले २० ओभरमा ६ विकेट गुमाएर १ सय रन मात्र बनाउन सक्यो । कोशीका लागि कप्तान रुविना क्षेत्रीले ४१ बलमा ३५ रन बनाउँदा लकिता राजवंशीले अविजित २१ रन बनाईन् । अप्सरी बेगमले १० रन बनाईन् ।

एपीएफका लागि बिनु बुढाले २ तथा सोनु खड्का,रेखा रावल र नेरी थापाले समान १/१ विकेट लिईन् । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा १ विकेट गुमाएर १ सय ५४ रन बनाएको हो ।

यो ललितपुर मेयर्स कपको नै सर्वाधिक ठूलो योगफल हो । यस अघि २०२१ को पहिलो संस्करणमा ललितपुर मेयर्स ११ ले लुम्बिनी प्रदेशविरुद्ध १ सय ४४ रन बनाएको थियो ।

एपीएफका लागि ओपनर तथा कप्तान सीता राना मगरले ६८ बलमा ७९ रनको अर्धशतकीय ईनिङ खेलिन् । सीताले ९ चौका र २ छक्का प्रहार गरिन् ।

इन्दु बर्माले ४१ बलमा ५१ रनको अर्धशतकीय ईनिङ खेलिन् । सीता र इन्दुबीच दोस्रो विकेटका लागि १ सय ३६ रनको साझेदारी भयो । कोशीका लागि अलिसा खडियाले १ विकेट लिईन् ।

अपराजित रहँदै एपीएफ च्याम्पियन बनेको हो । समूह चरणको खेलमा एपीएफले कोशीलाई ७ विकेटले पराजित गरेको थियो ।

गत वर्षको फाइनलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गरेको थियो । प्रतियोगिता चैत ९ गतेबाट सुरु भएको थियो ।

प्रतियोगितामा गत माघमा ईटहरीमा सम्पन्न प्रधानमन्त्री कप महिला टी(ट्वान्टी प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका चार टोली तथा आयोजक ललितपुर मेयर्स ११ को टोलीको सहभागीता रहेको थियो ।

प्रधानमन्त्री कप २०७९ को सेमिफाइनलमा रहेका सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, नेपाल एपिएफ क्लब र मधेश प्रदेश तथा आयोजक ललितपुर मेयर ११ ले प्रतिस्पर्धा गरेका थिए ।