‘महिन्द्रा एक्सिलेन्सी थिएटर अवार्ड’मा सुवेदीको नाटकले जित्यो ३ अवार्ड

‘महिन्द्रा एक्सिलेन्सी थिएटर अवार्ड’मा सुवेदीको नाटकले जित्यो ३ अवार्ड



काठमाडौं । नेपाली नाट्यकर्मी विमल सुवेदी निर्देशित नाटक ‘दि डिपार्टेड डन’ले भारतको प्रतिष्ठित थिएटर अवार्ड ‘महिन्द्रा एक्सिलेन्सी थिएटर अवार्ड’मा ३ वटा अवार्ड जित्न सफल भएको छ ।

भारतको अखोका थिएटरका भिक्टर थाउडमसँग मिलेर तयार गरेको यो नाटकले संगीत, कोरियोग्राफी र प्रमुख भूमिकामा अभिनेतातर्फको अवार्ड जितेको हो ।

प्रतिष्ठित अवार्डमा सुवेदीको लेखन रहेको यो नाटक निर्देशनसहित ४ मनोनयनमा परेको थियो । भुटानी शरणार्थीका जीवन, पीडा र संघर्ष ननटकमा समेटिएको छ ।

जबर्जस्ती आफ्नो जन्मथलो छाड्न बाध्य भएका नेपाली भाषी भुटानीको अवस्था चित्रण गर्ने नाटक सुवेदीले फिल्म बनाउने सिलसिलामा तयार गरेको जनाएका छन् । उनले ९ वर्षअघि फिल्म बनाउने सिलसिलामा यसको कथा तयार गरेको तर विविध कारणले फिल्म नबनेपछि यही कथालाई नाट्य रुपान्तरण गरेको उनको भनाइ छ ।

‘यो भुटानी शरणार्थीको कथा हो जो आफ्नो पुख्र्यौली थलो छाड्न बाध्य भएर विश्वका धेरै देशमा पुगे । नाटकले घर बन्ने प्रक्रियादेखि बनेको घर भताभुङ्ग भएको अवस्थासम्मलाई अभिव्यक्त गर्ने प्रयास गरेको छ,’ विमलले भने ।

नाटक पर्फमिङ आर्टको शैलीमा तयार भएको छ । नाटक यसअघि नेपालमा मञ्चन भएको छैन । विमलको टिमलाई नेपालमा यो नाटक मञ्चन गराउने रहर छ ।

विमलले सन् २०१६ मा भारतमा अन थिएटर अवार्ड प्राप्त गरेका थिए । उनी यो अवार्ड पाउने कम उमेरका नाट्यकर्मी हुन् भने सन् २०२२ मा मलेसियामा इन्टरनेसनल हेरिटेज अवार्ड पनि प्राप्त गरेका थिए ।