लाओसलाई हराउँदै नेपाललाई थ्री नेसन्स कपको उपाधि

लाओसलाई हराउँदै नेपाललाई थ्री नेसन्स कपको उपाधि



काठमाडौं । घरेलु टोली नेपालले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको फाइनलमा लाओसलाई २-१ गोल अन्तरले हराउँदै नेपालले उपाधि उचालेको हो ।

लोओसले बनाएको एक गोलको अग्रता उल्टाएर नेपाल च्याम्पियन बनेको हो ।

नेपालको जितमा आयुष घलान र मनिष डाँगीले एक एक गोल गरे । लाओसका फोउचाङभोङ साङ्भिले एक गोल गरे ।

खेल १-१ गोलको स्थितिमा रहेको बेला ८७ औं मिनेटमा डाँगीले गोल गरेका थिए ।

यसअघि १७ ‌औं मिनेटमा फौथाभोङ साङभिलेले गोल गर्दै लाओसलाई अग्रता दिलाए पनि त्यसको ७ मिनेटमै नेपालले बराबरी गोल फर्काएको छ ।

बोनपाचन बोनकोङकोको पासमा नेपाली डिफेन्डरहरु बिट भइसकेको अवस्थामा फौथाभोङले हाफ भली प्रहारमा गोल गरेका हुन् ।

तर २४ औं मिनेटमा नेपालले बराबरी गोल फर्काएको छ । एरिक विष्टले मिलाइदिएको पासमा बक्स भित्रबाट आयुश घलानको गोल गरेका थिए ।

भुटानसहित तीन देश सम्मिलित प्रतियोगितामा नेपाल पहिलो र लाओस दोस्रो हुँदै फाइनल पुगेका थिए ।

नेपालले उपाधिसहित ५ हजार अमेरिकी डलर पुरस्कार पाएको छ भने उपविजेताले २ हजार ५०० अमेरिकी डलर पुरस्कार पाएको छ ।