विश्वकप छनोट : नेपालसहित ९ टोलीको लाग्यो टुंगो

विश्वकप छनोट : नेपालसहित ९ टोलीको लाग्यो टुंगो



काठमाडौं । जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोटका लागि ९ वटा टोलीको टुंगो लागेको छ । छनोट खेल्न १० टोलीमध्ये टेस्ट खेल्ने श्रीलंका, वेस्ट इन्डिज, जिम्बाब्वे, नेपालसहितका ९ वटा टोलीको टुंगो लागेको हो ।

सुपर लिगतर्फ पुछारका रहेका श्रीलंका, वेष्ट इन्डिज, जिम्बाब्वे तथा नेदरल्यान्ड्सले पनि नेपाल जस्तै छनोट खेल्ने टुंगो लागेको छ । विश्वकप लिग टुको शीर्ष ३ मा परेर स्कटल्यान्ड, ओमान र नेपालले छनोट खेल्ने पक्का गरेका थिए ।

प्लेअफबाट अमेरिका र यूएईले पनि विश्वकप छनोटमा स्थान पक्का गरेपछि ९ टीम पुगेका हुन् । सुपर लिगमै रहेका टेस्ट टोली दक्षिण अफ्रिका र आयरल्यान्डमध्ये एउटाले सिधै विश्वकप खेल्दा अर्को टीमले नेपासहितका देशसँग छनोट खेल्नेछ । सिधै विश्वकप खेल्नेमा दक्षिण अफ्रिका बलियो स्थानमा छ ।

आयरल्यान्ड भने नेपासहितका देशसँग छनोट खेल्न आउने सम्भावना धेरै छ । आयरल्यान्डले अब बंगलादेशलाई खेल्न बाँकी ३ वटै खेलमा पराजित गरे मात्रै दक्षिण अफ्रिकासँग अंकमा बराबरी गर्नेछ । बंगलादेशसँगको तीनमध्ये एउटामा मात्रै पराजित हुँदा पनि दक्षिण अफ्रिकाले सिधै विश्वकप छनोट खेल्नेछ । त्यसो त दक्षिण अफ्रिकाले ३ खेल खेल्न बाँकी नै छ । सोहीकारण पनि सिधै छनोट हुनेमा उसको सम्भावना बलियो छ ।

अहिले पक्का भइसकेका ९ टीम र (सम्भवत: आयरल्यान्ड)​ गरी १० टीमले जिम्बाब्वेमा हुने विश्वकप छनोट खेल्नेछन् । ५/५ टीमलाई दुई समूहमा बाँडेर शुरूमा राउन्ड रोबिनका आधारमा प्रतियोगिता खेलाइने छ । दुवै समूहका शीर्ष ३ टोलीले सुपर सिक्समा एकअर्काविरुद्ध खेल्नेछन् । त्यसमा शीर्ष २ मा रहने टोलीले विश्वकप खेल्नेछन् ।

आयोजक, सुपर लिगका ७ टोली र नेपालसहितको क्वालिफायर प्लेअफबाट आउने २ सहितका १० टोलीले भारतमा हुने एकदिवसीय विश्वकप खेल्नेछन् ।

सुपर लिगका ७ टोलीमा न्युजिल्यान्ड, इंग्ल्यान्ड, भारत, बंगलादेश, पाकिस्तान, अष्ट्रेलिया र अफगानिस्तान छन् । सम्भवत: अब दक्षिण अफ्रिका छनोट हुनेछ ।