मनाङसँग फ्रेन्ड्स २-० गोलले पराजित

मनाङसँग फ्रेन्ड्स २-० गोलले पराजित



काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबले फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ । शुक्रबार ललितपुरस्थित च्यासल मैदानमा भएको खेलमा मनाङले फ्रेन्ड्स क्लबलाई २-० गोल अन्तरले हराएको हो ।

मनाङको जितमा कोफी टिमोथी कुदोले दुई गोल गरे। खेलको ३४औं मिनेटमा कोफीले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ५२औं मिनेटमा कोफीले व्यक्तिगत दोस्रो गोल गर्दै मनाङलाई २-० को जित दिलाए। जितसँगै मनाङ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

मनाङले ६ खेलमा १४ अंक जोडेको छ । फ्रेन्ड्स ४ अंक जोडेर १२ औं स्थानमा रहेको छ। त्यस्तै शुक्रबार नै एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा जवालाखेल युथ क्लब र एफसी खुमलटारले बराबरी खेल्दै अंक बाडेका छन् ।

जावलाखेल र खुमलटारले २-२ गोलको रोमाञ्चक बराबरी खेलेका हुन् । खेलको ३२औं मिनेटमा एनकोटो मोसाबीले गोल गर्दै जावलाखेललाई सुरुआती अग्रता दिलाएका थिए। तर ३५औं मिनेटमा अविशेक लिम्बुले गोल गर्दै खुमलटारलाई १-१ गोलको बराबरीमा ल्याए ।

खेलको ६३औं मिनेटमा मेसुके ओलुमोउले गोल गर्दा खुमलटार २-१ ले अघि रह्यो । तर खेलको ८६औं मिनेटमा फोडे फोफानाले गोल गर्दै जावलाखेललाई २-२ गोलको बराबरीमा ल्याए। यस बराबरीसँगै जावलाखेलले ७ खेलमा १४ अंक जोडेको छ। खुमलटारले ७ खेलमा ७ अंक जोडेको छ ।