काठमाडौं । इञ्जिनियरिङ शिक्षा हासिल गरेर व्यवसायमा रमाएका देशबन्धु बस्नेतले नेपाल उद्योग वाणिज्य महासंघका (एफएनसीसीआई) का कार्यकारी सदस्य पदमा पुनः उम्मेदवारी दिएका छन् । यसअघि पनि उनी सदस्य पदमा सम्मानजनक मत ल्याएर निर्वाचित भएका थिए । महासंघ रहँदा उनले गैरआवासीय नेपाली संघ (एनआरएनए) संयोजकको भूमिकामा अवसर पाए । एनआरएनए विदेशमा रहेका नेपालीहरुको साझा संस्था हो । विदेशमा रहेका नेपालीहरुलाई मातृभूमिसँग जोड्न उनले पु-याएको योगदान प्रशंसनीय ठानिएको छ ।
छोटो अवधिमा बस्नेतले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थामा आबद्ध रहेर काम गरेका छन् । नेपालका लागि गणतन्त्र जाम्बियाका अवैतनिक महावाणिज्यदूत बस्नेत सार्क चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (सार्क) का कार्यकारी समिति सदस्य, अन्तर्राष्ट्रिय लगानी प्रवद्र्धन समितिको सल्लाहकार र कोशी प्रदेश (एफएनसीसीआई) र व्यापार मेला समिति (एफएनसीसीआई) मा आबद्ध रहेर महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन् ।

सोचलाई व्यवसायमा रुपान्तरण गर्न बस्नेत सफल भइसकेका छन् । प्रभावकारी व्यापार योजना, रचनात्मक व्यवस्थापन कौशल र नवीन मार्केटिङ प्रविधिको उपयोग बस्नेतका विशेषता हुन् । बस्नेत नेपालमा एबी इन्भेष्टमेन्ट होल्डिङ्सका अध्यक्ष हुन् ।
आउँदो मंगलबार अर्थात् चैत २९ गते नेपाल उद्योग वाणिज्य महासंघको व्यवसायी चन्द्र ढकालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित हुँदैछ । ढकाल नेतृत्वको कार्यसमितिमा यिनै सफल व्यवसायी बस्नेतले दोस्रो कार्यकालका लागि सदस्य पदमा उमेशलाल श्रेष्ठ समूहबाट उम्मेदवारी दिएका हुन् । यसपटक पनि उनी निर्वाचित हुनेमा कुनै शंका छैन ।
‘निर्वाचित भएपछि मैले मुलतः हाम्रो निर्वाचित अध्यक्ष र टिमले दिएको जिम्मेवारी अनुसारको काम गर्ने हो’ बस्नेतले भने, ‘म नेपालमा राम्रो व्यवसायिक वातावरण बनाउन र व्यवसायीहरुका साझा मुद्दामा प्रतिबद्ध भएर लाग्ने छु ।’

उनले नेपालको औद्योगिक तथा व्यवसायिक विकासका धेरै सम्भावनाहरु रहेको बताए । यी सम्भावनालाई वास्तविकतामा रुपान्तरण गर्न सरकार, आम नागरिक, देश तथा विदेशका संघसंस्थासँग सहकार्य गरेर जानुपर्ने उनको सुझाव छ ।
आतिथ्य सत्कार, पर्यटन, कृषि, स्वास्थ्य सेवा, उत्पादन, ऊर्जा र निर्माण उनको प्राथमिकता प्राप्त लगानीका क्षेत्र हुन् । एबी होल्डिङ्स नामक कम्पनिका सञ्चालक बस्नेतले होटल र स्वास्थ्य क्षेत्रमा लगानी विस्तार गरेका छन् । काठमाडौ र इटहरीमा क्रमशः मक्र्युअर होटल र ग्राण्ड सेन्ट्रल होटल नामक दुई पाँच तारे होटल निर्माणाधीन छन् । आउँदो वर्षभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
उनको गोरखामा मनकामना रिट्रिट रिसोर्ट एण्ड स्पा होटल, इटहरीमा ईँटा उद्योगलगायत विभिन्न व्यवसाय सञ्चालन तथा निर्माणको क्रममा छन् । उनको कम्पनिले शिक्षा, स्वास्थ्य, प्रविधि र ऊर्जाको क्षेत्रमा पनि अनुसन्धान गरी लगानी गर्ने तयारी थालेको छ ।
प्रतिक्रिया