दिदीबहिनी मृत फेला घटना : सुन लुट्न दुई नाबालिकाको हत्या

दिदीबहिनी मृत फेला घटना : सुन लुट्न दुई नाबालिकाको हत्या



रुकुम पूर्व । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा सिस्नु टिप्न गएका दुईजना नाबालिकाको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । चैत २३ मा सिस्नु टिप्न गएका पुथा उत्तरगंगा–३ घर भएका १० वर्षीया रिमा बुढा र ८ वर्षीया काली बुढा मृत भेटिएका थिए ।

उनीहरुको हत्या आरोपमा दुईजना नाबालिकालाई पक्राउ गरिएको रुकुम पूर्वकी डिएसपी अञ्जना श्रेष्ठले बताइन् । चैत २२ मा बिहान १० बजे तारामान बुढाका छोरीहरु सेराबाङ गएका थिए । तर, राति अबेर सम्म घर नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । स्थानीय लुपर खोलाको भिरमा शव भेटिएपछि अनुसन्धान गर्न नेपालगञ्जबाट कुकुर सहितको टिम परिचालन गरिएको थियो ।

पक्राउ पर्नेहरु तारामान बुढाको छिमेकीहरु हुन् । नाबालिकाहरुले कानमा लगाएको सुन लुट्ने उद्देश्यले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको डिएसपी श्रेष्ठले बताइन् । डिएसपी श्रेष्ठले भनिन्,‘लुटपाटको उद्देश्यले हत्या गरेको देखिन्छ, थप अनुसन्धान गर्दै छौं ।’

अनुसन्धानमा संलग्न अधिकृतका अनुसार नाबालिकाको घाँटी थिचेको र ढुंगाले हानेको चोट देखिएको छ । हत्यापछि घिसारेर भिरबाट खसालेको भेटिएको छ । आरोपीहरुविरुद्ध जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।