एसीसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात

एसीसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात

मलेसियामाथि ६ विकेटको जित



काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा उद्घाटन खेलमा मलेसियालाई ६ विकेटले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो ।

नेपालले जितका लागि पाएको २३६ रनको लक्ष्य ३६. २ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । नेपाललाई जिताउन भीम सार्कीले ७१ रन बनाए । कुशल मल्ल ७० रनमा नट आउट रहे । रोहित पौडेलले ४२ र कुशल भुर्तेलले ३८ रन बनाए । आसिफ सेख १ रनमा आउट भए ।

यसअघि कप्तान अहमद फैज र विरन्दीप सिंहले शतकीय साझेदारी गरेपछि मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३५ रन बनाएको हो ।

अहमद फैज र विरन्दीपले दोस्रो विकेटका लागि ११६ रनको साझेदारी गरे । फैजले ९५ बलमा ८ र १ छक्का प्रहार गरी सर्वाधिक ७६ रन बनाए । विरन्दीप ९४ बलमा ४६ रन जोडे । उनले २ चौका प्रहार गरे ।

ओपनर मुहम्मद अमिर १७ रन बनाएर आउट भएका थिए । त्यसबाहेक अजार हायतले २२, मुहम्मद वाफिकले २१ र मुहमद सहादतले १५ रन बनाए । मलेसियाले १२ रन अतिरिक्तबाट पाएको थियो ।

नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले ३-३ विकेट लिए । सोमपालले ९ ओभरमा ४० रन खर्चिए भने सन्दीपले १० ओभरमा १ मेडन राख्दै ४८ रन खर्चिए । ललित राजवंशीले १० ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । गुलशन झाले १ विकेट लिए ।

१० राष्ट्र सहभागी यस प्रतियोगिताको समूह ए मा रहेको नेपाल २ अंक सहित शीर्ष स्थानमा रहेको छ । नेपालको अर्को खेल वैशाख आठ गते ओमानविरुद्ध रहेको छ ।