काठमाडौं । एसीसी प्रिमियर कपको समूह ‘ए’ मा रहेको ओमानले सुखद सुरुवात गरेको छ । बुधबार मूलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा ओमानले कतारविरुद्ध ४० रनको जित निकाल्यो ।
ओमानले प्रस्तुत गरेको २५० रनको लक्ष्य पछ्याउने क्रममा कतारले ४२.२ ओभरमा सबै विकेट गुमाएर २०९ रनमात्र बनाउन सक्यो । त्यसअघि टस हारेपछि ब्याटिङमा आएको ओमानले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २४९ रनको योगफल खडा गरेको थियो ।
ओमानका अयान खानले ६४ रन बनाएका थिए । अयानले ५९ बलमा पाँच चौका र एक छक्का प्रहार गरे । कप्तान जिसान मक्सुदले ४१, सन्दीप गौडले ३४ रन बनाउँदा ओपनर कस्यप प्रजापति र मोहम्मद नदिमले समान १८ रन थपे । अकिब इल्यासले १७ रन जोड्दा जतिन्दर सिंहले १६ रन बनाए ।
कतारका अमिर फारुक र मुहम्मद मुरब समान तीन विकेट लिए । इक्रामुल्लाह खानले दुई विकेट लिए । २५० रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको कतारका कप्तान मोहम्मद रिजलानले ४३ रन बनाए, खुरम साहजादले ३०, इमाल लियानागेले २७, इक्रामुल्लाह खानले २६, मुहम्मद तनवीरले १९, कमरन खानले १२ र अमिर फारुकले ११ रन जोडे ।
ओमानका बिलाल खानले चार विकेट लिए । ८.२ ओभर बलिङ गरेका बिलालले ४२ रन खर्चिए । जय ओडिड्रा र अकिब इल्यासले समान दुई विकेट लिँदा जिसान मक्सुदले एक विकेट लिए ।
यसै वर्ष पाकिस्तानमा हुने तालिका रहेको एसिया कपको छनोट प्रतियोगिताको रूपमा रहेको प्रिमियर कपमा कुल १० टिम सहभागी छन् । सहभागी टिमलाई एक समूहमा पाँच टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ ।
प्रिमियर कपको समूह ‘ए’ मा नेपालसँगै ओमान, मलेसिया, साउदी अरेबिया र कतार छन् । यस्तै, समूह ‘बी’ मा युनाइटेड अरब इमिरेट्स (यूएई), हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । प्रतियोगिताको विजेताले एसिया कपका स्थान बनाउनेछ ।
प्रतिक्रिया