काठमाडौं । एसीसी प्रिमियर कपमा बिहीबार साउदी अरेबियाले मलेसियासामु १५४ रनको लक्ष्य प्रस्तुत गरेको छ । बिहीबार मुलपानी क्रिकेट मैदानमा टस हारेपछि ब्याटिमा आएको साउदी ४६.२ ओभरमा १५३ रनमै समेटिएपछि मलेसियाले १५४ रनको मध्यम लक्ष्य पाएको हो ।
साउदीका हसीब घफुरले ४० रन बनाए । अब्दुल वहिदले ३६, कप्तान हिसाम शेखले २१ र अतिफ उर–रहमानले १८ रन बनाए । साउदीलाई सस्तैमा समेट्न खिर हायातले तीन विकेट लिए । मुहम्मद वफिक, रिजवान हैदर र अन्वर रहमानले समान दुई विकेट लिए । विरन्दिप सिंहले एक विकेट लिए ।
प्रतियोगिताको समूह ‘ए’मा रहेको मलेसियाको यो दोस्रो खेल हो । यसअघि, पहिलो खेलमा मलेसिया नेपालसँग ६ विकेटले पराजित भएको थियो । साउदीको भने यो पहिलो खेल हो ।
यसै वर्ष पाकिस्तानमा हुने तालिका रहेको एसिया कपको छनोट प्रतियोगिताको रूपमा रहेको प्रिमियर कपमा कूल १० टिम सहभागी छन् । सहभागी टिमलाई एक समूहमा पाँच टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ ।
प्रिमियर कपको समूह ‘ए’मा नेपालसँगै ओमान, मलेसिया, साउदी अरेबिया र कतार छन् । यस्तै, समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स (यूएई), हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । प्रतियोगिताको विजेताले एसिया कपमा स्थान बनाउनेछ ।
प्रतिक्रिया