गोकर्णेश्वर नगरपालिकाले गजल महोत्सव आयोजना गर्दै, प्रथम पुरस्कार नगद ६० हजार

गोकर्णेश्वर नगरपालिकाले गजल महोत्सव आयोजना गर्दै, प्रथम पुरस्कार नगद ६० हजार



काठमाडौं । साहित्यिक क्षेत्रको विकास विस्तारका लागि निरन्तर उदाहरणीय कार्य गर्दै आएको काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले राष्ट्रव्यापी खुल्ला प्रतियोगितात्मक वृहत गजल महोत्सव आयोजना गर्ने भएको छ । महोत्सव यही वैशाख २३ गते गोकर्णेश्वर नगरपालिका वडा नं. ९ आरुबारीमा आयोजना हुनेछ । प्रतियोगिताका लागि उपलब्ध रचनाहरु विज्ञ समूहद्वारा मूल्यांकन गराई ४० वटा रचनाहरुको वाचन तथा गायनमा छनोट गरिनेछ । प्रतियोगितामा प्रथम हुने गजलकारलाई करबाहेक नगद रु ६० हजार पुरस्कार प्रदान गरिनेछ ।

त्यस्तै द्वितीयलाई ४० र तृतीयलाई ३० हजार रुपैयाँ प्रदान गरिनेछ भने पाँचजनालाई सान्त्वना पुरस्कार स्वरुप जनही २० हजार रुपैयाँका दरले पुरस्कृत गरिनेछ । यसै गरी महोत्सवमा विविध सांस्कृतिक कार्यक्रमका साथ अप्रतियोगिका रुपमा विशिष्ठ गजलकारहरुको उत्कृष्ट प्रस्तुति रहनेछ । महोत्सवलाई सफल र भव्य रुपमा सम्पन्न गर्न साहित्यकार गोविन्द घिमिरेको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरिएको छ ।

यसै गरी महोत्सवलाई व्यापक रुपमा प्रचारप्रसार गर्न नवराज चालिसेको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको छ । गोकर्णेश्वर नगरपालिकाले विगतमा राष्ट्रिय स्तरको कविता प्रतियोगिता लगायतका कार्यक्रम आयोजना गरिसकेको छ । भैरव पुरस्कार गुठी, रमेश विकल साहित्य प्रतिष्ठान, अभिनव साहित्य समाज, सुरभी साहित्य प्रतिष्ठान सहितका अन्य सक्रिय साहित्यिक संघ संस्थाको उपस्थितिका कारण पनि साहित्यिक वृत्तमा गोकर्णेश्वर नगरपालिकाको विशिष्ट पहिचान रहेको छ ।

गोकर्णेश्वर नगरपालिकाले साहित्यिक प्रकाशनहरूमा पनि सहयोग गर्दै आएको छ । सभ्य तथा सचेत समाज निर्माणमा साहित्यिको सबैभन्दा महत्वपूर्ण भूमिका हुने भएकाले साहित्यिक गतिविधिलाई नगरपालिकाले उच्च प्राथमिकता दिएको नगर प्रमुख दीपक रिसाल बताउनुहुन्छ । रमेश विकल, भैरव अर्याल, कञ्चन पुडासैनी जस्ता साहित्यिक हस्तिहरूको जन्म तथा कर्मभूमिको रुपमा परिचित गोकर्णेश्वर नगरपालिकाले आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर गरिरहने नगरप्रमुख रिसालको भनाइ छ ।